काठमाडौं-नेपाल रेडक्रसले मनसुन तयारी योजना अनुसार इमरजेन्सी अपरेसन सेन्टरलाई सक्रिय बनाएको छ । यसअनुसार विपद्को अवस्थाअनुसार तथ्याँक संकलन, राहत, उद्दार, सहयोग, समन्वय, प्रतिवेदन, बन्दोबस्ती लगायतको क्षेत्रमा केन्द्रीय र स्थानीय स्तरमा दक्ष स्वयंसेवक र कर्मचारीलाई परिचालन गरिएको छ ।
रेडक्रसको आपत्कालीन केन्द्रको प्रारम्भिक विवरण अनुसार रौतहट, उदयपुर, पर्सा, बारा, मोरङ, सिरहा लगायतका १९ जिल्लामा वढी क्षति पुगेको छ । छ हजार ६ सय परिवारका ३३ हजार मानिस प्रभावित भएको नेरेसोका जिल्लाहरुबाट जानकारी आएको हो । त्यो मध्ये एकहजार दुईसय ४६ परिवार विस्थापित हुन पुगेका छन् । करिव २०० घरहरु बस्नै नमिल्ने गरी भत्किएका छन् ।
अति प्रभावित परिवारमध्ये २२१ परिवारलाई रेडक्रसले गैरखाद्य सामग्री राहत सेट उपलव्ध गराएको छ । उपलव्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् । यसका साथै २४५ वटा तारपोलिन छुट्टै वितरण गरिएको छ ।
देशका अधिकाँश स्थानमा परेको अविरल बर्षाले सडक अबरुद्ध, डुवान, वाढी र पहिरोका घटनाहरु हुँदैगर्दा स्थानीय निकाय, सरकार, शुरक्षा निकायसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वयंसेवक र कर्मचारी परिचालित भएका हुन् । शनिवार ११५ जना दक्ष स्वयंसेवकहरु फिल्डमा खटिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया