रुकुममा जङ्गली च्याउ खाँदा एकै गाउँका १२ जना बिरामी

काठमाडौं । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् ।

च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी, १७ वर्षीया कल्पना केसी र ५४ वर्षीया चन्द्रकुमारी गिरी रहेका छन् ।

त्यस्तै २४ वर्षीया जमुना गिरी, २५ वर्षीया पुष्पाञ्जली गिरी, ३० वर्षीया मनिषा बुढा, ६० वर्षीया देवी खनाल, १३ वर्षीय नवराज खनाल र १६ वर्षीया हिमाली खड्का पनि च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिरामी सबैको मुसीकोट नगरपालिका–१ खलङ्गाको साझा अस्पतालमा उपचार भइरहेको छ । अहिले बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार जङ्गलबाट ल्याएको च्याउ पकाएर हिजो साँझ खाएका उनीहरु लगत्तै बिरामी परेका थिए । समयमै स्वास्थ्य संस्थामा ल्याएका कारण उनीहरुलाई केही हुन नपाएको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।

यसैबीच प्रहरीले जङ्गली च्याउ नखान आग्रह गरेको छ । जङ्गली च्याउ विषालु हुने र त्यसको सेवनबाट ज्यानै जाने भएकाले जङ्गलबाट ल्याएको च्याउ नखान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले सबैलाई आग्रह गरे ।

सधैँ खाइरहेको र चिनेको च्याउसमेत विभिन्न कारणले विषालु हुनसक्ने भएकाले जङ्गली च्याउ नखान स्वास्थ्यकर्मीले समेत आग्रह गरेका छन् । जङ्गलमा पाइने विभिन्न प्रकारका च्याउ तरकारीको रुपमा खाने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?