वडाध्यक्षको फर्जी हस्ताक्षर गर्ने प्रयास भएपछि…

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बालाजुस्थित अटो पार्टस्का कर्मचारी रविन खत्री रहेका छन् । उनलाई प्रहरीले बिहीबार सोह्रखुट्टेस्थित कार्यालयबाटै पक्राउ गरेको हो ।

आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए ।

उनलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त स्रोहखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले बताए । कार्कीले अटो पार्टस्का मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको भन्दै थप आफूलाई थाहा नभएको बयान दिएका छन् ।

वडाध्यक्षको फर्जी हस्ताक्षर भएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?