काठमाडौं । जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन् । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ । जन्मदिनको पर्याय बनेको ‘केक’ बाल मस्तिष्कमा निकै गहिरो छाप बनेर बसेको छ ।
‘केक’ ले क्रेजी बनाएर होला, आजभोलि बालबालिका त घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन् ।
तर सुर्खेत पश्चिम चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले आफ्नो ३८औँ जन्मदिन मानवीय धर्म र संवेदनासँग जोडेर मनाउनुभएको छ । जुन कार्य शहरमा बसेर केक काट्न रहर गर्नेहरुका लागि मननीय छ ।
अध्यक्ष शाहीले शुक्रबार चौकुने गाउँपालिकाको सान्नेघारी माध्यमिक विद्यालय गुटुका १५ टुहुरा (अनाथ) बालबालिकासँग खुशी साटेर जन्मदिवस मनाउनुभयो । जन्मदिवसको अवसरमा उहाँले अनाथ सबै बालबालिकालाई एकसरो कपडा र शैक्षिक सामग्री प्रदान गर्नुभयो ।
उहाँले भन्नुभयो, “मेरो खुशी केकसँग होइन, तिनै अनाथ बालबालिकासँग नैतिकता र जीवन दर्शनका कुरा गरेर साटेँ ।”
भागदौडपूर्ण जिन्दगीमा एकमुठ्ठी खुशी आदानप्रदान गर्न थोरै समय भए पनि टुहुरा बालबालिकासँगै रहेर जन्म दिवस मनाउन पाउँदा मन हर्षित भएको उहाँले राससलाई बताउनुभयो ।
जन्मदिनमा उपहार लिने नभई दिने चलनको विकास होस् भन्न र गर्नका निम्ति गुटुका अनाथ बालबालिकासँग जन्मदिवस मनाइएको उहाँको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया