काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले हार बेहोरेको छ ।
मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । यस्तै कम्रान खानले २२ रन जोडे ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।
कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि नेपालले उच्च स्कोर बनाउन असफल भयो ।
कप्तान पारस र ज्ञानेन्द्रको यो साझेदारी टी(ट्वान्टी अन्तराष्ट्रियमा पहिलो विकेटका लागि नेपालको सर्वाधिक रनको साझेदारी हो । कप्तान पारस २८ रनमा आउट हुँदा ज्ञानेन्द्र २३ रनमा पेभेलियन फर्किए ।
यस्तै सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे । कतारका इकबाल हुसेनले ३ विकेट लिए । तमोर साजाद र नुमान सर्वारले २र२ विकेट लिए ।
प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै नेपालले कुवेतसँग शनिबार र आइतबार सिंगापुरसँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया