अविरल वर्षासँगै आज बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिका-८ ज्यामिरेकी १७ वर्षीया सीता गौतमको मृत्यु भएको छ ।
बिहान करीब ६ बजेतिर गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक केशवसिंह थापाले बताउनुभयो ।
गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट एक्कासि पहिरो खसेको थियो । पहिरोले गोठ पूर्णरूपमा क्षतिग्रस्त बनेको जनाइएको छ । पहिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएका छन् ।
स्थानीयवासीले एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालेका थिए । उद्धार तथा राहतका लागि जनप्रतिनिधि, प्रहरीलगायत घटनास्थल पुगेका छन् । प्रहरीका अनुसार निरन्तर वर्षा भइरहेका कारण घर पनि जोखिममा छ ।
मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया