एजेन्सी । उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन् ।
बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेको थियो । दक्षिण कोरियाका सेनापतिले पछिल्लो क्षेप्यास्त्र नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बताउनुभएको छ ।
दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले गरेको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको उल्लेख छ । पहिलो क्षेप्यास्त्र करिब ४३० किलोमिटर टाढा पुगेर समुद्रमा खसेको भए पनि अर्को क्षेप्यास्त्र ६९० किलोमिटर टाढा पुगेको उनीहरुको विश्लेषण छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच गत महिना एकाएक दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएपछि यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुबै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने विषयमा वार्ता र छलफल अगाडि बढाउने सहमति भएको थियो ।
विश्लेषकहरुले अर्को महिना हुन लागेको अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् ।
गत मे महिनामा पनि उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त घटनालाई सामान्य रुपमा लिँदै राष्ट्रपति ट्रम्पले सानातिना घटनाले दुई मुलुकबीचको सम्बन्धमा असर नपार्ने बताउनुभएको थियो ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दुई मुलुकबीच हाल अबरुद्ध रहेको वार्ता मध्य जुलाईमा शुरु हुनसक्ने यसअघि बताउनुभएको थियो तर गत साता उत्तर कोरियाले अमेरिका-दक्षिण कोरियाबीच हुन लागेको संयुक्त सैन्य अभ्यासले वार्तामा असर पर्ने जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया