काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक बर्ष पुग्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारको कडा आलोचना गरेको छ ।
साउन ९ गते निर्मलाको हत्या भएको एक वर्ष पुगेको दिन कांग्रेसले अझै पनि हत्यारा पत्ता नलागेको भन्दै ७ बुँदे विज्ञप्ति जारी गरेको छ ।
बिहीबार जारी गरेको विज्ञप्तिमा एकवर्षमा पनि दोषीको पहिचान हुन नसक्नु दुःखद भएको उल्लेख छ भने बलात्कारका घटना झनै बढेर गएको प्रति चिन्ता व्यक्त गरिएको छ ।
हेर्नुहोस् कांग्रेसले जारी गरेको ७ बुँदे विज्ञप्ति:
१. दोषी जोगाउने प्रपन्च
निर्मला पन्तको शव भेटिएको स्थलमा रहेका तथ्यहरु सुरक्षित ढंगले संकलन गरिनु पर्नेमा प्रमाण नष्ट गर्ने ढंगले कपडा लगायत धोइनु दोषी जोगाउने प्रपन्चको खुलेआम प्रस्तुति नभई के थियो भन्ने जवाफ आजसम्म प्राप्त छैन ।
२. निर्दोषलाई दोषी ठह-याउने प्रयत्न
घटनाको केही दिनपछि दोषीका रुपमा सार्वजनिक गरिएका दिलिप सिंह विष्ट मानसिक सन्तुलन गुमाएको नागरिक रहेका सत्य खुल्यो । केही महिनापछि सरकारको ठम्याइएका दोषी १८ वर्षे विशाल चौधरी घटना भन्दा दुईदिन अघि कुखुरा चोरीको अभियोगमा कञ्चनपुर हिरासतमै रहेको तथ्य खुल्यो ।
३. जनप्रदर्शनमा मारिए बालक
दोषीमाथि कारबाहीको माग गर्दै कञ्चनपुरमा भएको जनप्रर्दशनलाई संयमतापूर्वक विश्वासमा लिनु भन्दा सरकारले दमनको नीति अख्तियार ग¥यो । प्रहरीको गोली लागेर कलिला बालक सनि खुना मारिए । दर्जनौ घाइते भए ।
४. गैह्र जिम्मेवार अभिव्यक्तिहरू
यो प्रकरणमा सरकार एक्सनमा कम भाषणमा बढी भेटियो । स्वयं प्रधानमन्त्रीकै विवादास्पद अभिव्यक्ति टेलिभिजन अन्तरवार्ता मार्फत आयो भने वर्षदिन पुग्नै लाग्दा गृहमन्त्रीको जिम्मेवार ओहोदाबाट गैह्र जिम्मेवार विचार प्रस्तुत भयो ‘यस्तो विगतमा पनि भयो, आज पनि भइरहेको छ र भविष्यमा पनि हुनेछ’ । नेपाली कांग्रेस प्रश्न गर्न चाहन्छ संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट न आपत्तिजनक छ नै, जिम्मेवार राज्यको अभिमत के यस्तो हुन मिल्छ ?
५. प्रहरीलाई बदनाम गराउने षडयन्त्र
अपराध अनुसन्धानको दक्षताका दृष्टिले दक्षिण एशियामा अग्रपंक्तिमा नाम आउने नेपाल प्रहरी यो प्रकरणमा असफल भएको हो या सरकारको नियतवश सफल हुन नदिइएको हो ? यो गम्भीर प्रश्न वर्षदिन पुगिरहँदा हामी यसकारण उठाइरहेका छौं किनकि यो प्रकरणमा सरकारले प्रस्तुत गरेको व्यवहार प्रहरीलाई सफल बन्न दिनेतर्फ कम घटनाको ढाकछोप गर्ने नियततर्फ विशेष सर्तकता देखियो ।
६. सरकार असफल
अन्ततः एक वर्षको संक्षिप्त निष्कर्ष हो सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल भएको छ र यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्न समेत असफल भएको छ ।
७. गम्भीर वहसको खाँचो
निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैह्र जिम्मेवार जवाफ दिएर सरकारको कर्तव्य पुरा हुन्न । निर्मला प्रकरण वर्षदिन पुगिरहँदा नेपाली कांग्रेस यस्तो जघन्य अपराधका पछिल्तिरको सामाजिक मनोविज्ञान, प्रशासनिक कमजोरी, कानूनी सचेतताको व्यापकता, राज्यको गहन जिम्मेवारी, राजनैतिक दलहरुको साझा कर्तव्य र संचार माध्यम लगायत सिंगो समाजको भूमिका एवं दायित्व बारे विशेष बहषको आवश्यकता औल्याउँन चाहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया