काठमाडौं । बर्डफ्ल्युको हल्लापछि लगानी गर्न किसान डराएरसंगै यो महिना मात्रै मासुको मुल्य ४ पटक बढेको छ ।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार असार महिनामा मात्रै तयारी कुखुराको मासुको मूल्य चारपटक बढेको हो । असार १० गते प्रतिकिलो ३०० रुपैयाँमा थोक बिक्री भइरहेको कुखुराको मासु असार १७ गते बढेर ३१५ रुपैयाँ कायम भएको थियो ।
दोस्रोपटक बढेको ८ दिनपछि असार २३ मा पाँच रुपैयाँ बढेर ३२० पुगेको थियो । असार ३० मा चौंथोपटक बढेर मासुको मूल्य ३५० थोक कायम भएको संघले जनाएको छ ।
हाल काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ ।
राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार थोकमा किन्दा तयारी कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँ पर्छ ।
यस्तै खसीको तयारी मासुको थोक मुल्य १२५० रुपैयाँ पुगेको संघकाले जनाएको छ । अनुगमन गर्ने संयन्त्र नहुँदा कुखुराको मासुको मूल्य बढेको संघको ठम्याई छ । यस्तै, खसी–बोकाको उत्पादन नेपालमा न्यून रहेको अवस्थामा भारतबाट ल्याउन सरकारले कडाइ गरेपछि मूल्य बढेको जनाइएको छ ।
असार ३० गते कायम भएको तयारी मासुको मूल्य पछिल्लो एक वर्षयताकै सबैभन्दा उच्च भएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ । दुई महिनाअघि काभ्रेमा बर्डफ्लूका कारण युवकको मृत्यु भएको समाचार फैलिएपछि किसान डराएर उत्पादन घट्दा मूल्य बढेको संघको भनाइ छ ।
सरकारले बजेटमार्फत दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा कर लगाएपछि दाना पनि महँगिएको र मूल्यमा असर परेको पनि बीसीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया