शंकाको घेरामा काँग्रेस नेताको ‘आत्महत्या’ प्रकरण, काँग्रेसले नै भन्यो- घटना रहस्यमय !

appharu
0
Shares

काठमाडौं–बालुवाटार जग्गा घोटाला प्रकरणमा मुछिएका काँग्रेस पर्वत जिल्ला सचिव समेत रहेका युक्तप्रसाद श्रेष्ठको ‘आत्महत्या’ प्रकरण शंकाको घेरामा तानिएको छ ।

आइतबार काठमाडौँको माछापोखरीमा रहेको हिमालय सिटी सेन्टरमा उनले आत्महत्या गरेको बताइएको छ। सिटी सेन्टरको भवनको आठौं तलाबाट हामफालेर उनले आत्महत्या गरेको भनिएपनि शरीरबाट रगत ननिस्कनु र कुनै चोटपटक समेत नदेखिएकाले घटना शंकास्पद भएको हो । उनले अख्तियारलाई जग्गा प्रकरणमा दिएको बयानमा आफूले ‘ठूला मान्छेको निर्देशनमा काम गरेको’ बयान दिएका थिए ।

उनको मृत्युलाई नेपाली काँग्रेसले समेत रहस्यमय र शंकास्पद भएको बताएको छ ।

काँग्रेसले श्रेष्ठको हस्यमय तवरले मृत्यु भएको भन्दै पार्टीको गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ ।
काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको मृत्यु हुनासाथ अनुसन्धान नै नगरिकन र पोष्टमार्टम समेत नभएको अवस्थामा प्रहरीको हवला दिंदै आत्महत्या हो भनेर संचार माध्यमहरुमा सम्प्रेषित समाचारप्रति नेपाली कांग्रेस गम्भीर भएको छ र आपत्ति प्रकट गर्दछ । घटनास्थलको प्रकृति हेर्दा आठ तलाबाट खसेको भनिएको घटनाको प्रत्यक्षदर्शी कोही पनि नहुनु र घटना स्थलमा रगत समेत नदेखिनु, शरीरको कुनै पनि भाग चोटपटक र अंगभंग नहुनु जस्ता कुराले घटनालाई रहस्यमय र शंकास्पद बनाएको छ ।’
घटनाको संवेदनशीलताका साथ यथार्थ छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न काँग्रेसले सरकारसँग जोडदार माग गरेको छ ।

स्वर्गीय श्रेष्ठको सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रियता रहेको थियो । उनको श्रीमती, एक छोरा र दुई छोरी छन्।

सचिव श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिसकिएको छ । पार्टीका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा ओढाएर उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, जिल्लाका नेताहरु, पार्टीका सदस्यहरु तथा स्वर्गीय श्रेष्ठका आफन्तजनहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

काँग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा उनले पु¥याएको सक्रिय योगदान सदैव स्मरणीय रहने समेत जनाएको छ । उनको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको भन्दै मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?