विप्लवको बन्द बनेपामा बम विस्फोट, हेटौडामा गाडीमा आगजनी

appharu
0
Shares

काठमाण्डौं । काभ्रेको बनेपा बजारमा बम विस्फोट भएको छ । गएराति बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले पुष्टि गरेको छ ।

बिस्फोट भएको जानकारी पाएपछि घटनास्थलमा प्रहरी पठाइएको तर क्षतिको विवरण आईनसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटा बताउनुभयो ।

प्रतिबन्धित विप्लव समुहले बुधबार बन्दको आह्वान गरेको छ । उसैले बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यस्तै झापामा तीन वटा एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आगजनी गरिएको जनाईएको छ ।

यस्तै बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा शंकास्पद वस्तु पनि फेला परेका छन् ।

बन्द आह्वानको पूर्वसन्ध्यामै हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र मकवानपुरकै फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा आगजनी भएको हो ।

आगजनीका कारण कार पूर्ण रूपमा क्षति पुगेको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी, हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक २० नजिकै शंकास्पद् वस्तु सेनाको टोलीले निष्क्रिय पारेको छ । हेटौंडाको मुख्य बजारको पारिजात पथमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पार्न सेनाको टोली आउँदै गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव समूहले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?