काठमाडौं । सरकारले यात्रु बीमाको रकम बढाउने तयारी गरेको छ । यसका लागि यातायात व्यवस्था विभागले बीमाको दर रेट निर्धारण गर्न सरकारको बीमा सल्लाहकारको भूमिका निभाउँदै आएको बीमा समितिलाई आग्रह गरेको छ ।
विभागले दुर्घटनाबाट घाइते यात्रुको उपचारका लागि ५ लाख, मृत्यु भएमा १० लाख र आजीवन घाइते (हेड इन्जुरी) भए १५ लाख रुपैयाँसम्मको बीमा हुने गरी दर तोक्न आग्रह गरेको छ ।
अहिलेको कानुनी व्यवस्थाअनुसार हाल सवारी दुर्घटनाबाट घाइते भएमा उपचारका लागि बीमाबापत बढीमा प्रतिव्यक्ति ३ लाख रुपैयाँ र मृत्यु भएमा प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्म भुक्तानी पाइन्छ । हालको व्यवस्थामा मस्तिष्क घात (हेड इन्जुरी) का रूपमा वर्गीकरण गरी बीमा दाबी भुक्तानी गर्ने व्यवस्था छैन ।
दुर्घटनाबाट धेरै यात्रु घाइते हुने क्रम बढेपछि विभागले यो व्यवस्था पनि थप्न लागेको हो । छलफल भएकै आधारमा बीमा दर निर्धारण भएमा निजी सवारीका यात्रु ९तेस्रो पक्ष बीमा० ले पनि यो सुविधा पाउनेछन् ।
हाल भइरहेको रकम यात्रुका लागि कम भएको भन्दै विभागमार्फत बीमा दर वृद्धि गर्न समितिलाई आग्रह गरिएको हो । यात्रु बीमाको सीमा बढाउने विषयमा निरन्तर रूपमा लागिएको विभागको भनाइ छ । यसका लागि सरोकारवाला र बीमा समितिसँग छलफल भइरहेको छ ।
दुर्घटनाबाट घाइते यात्रुको उपचार र मृत्यु भएका यात्रुका परिवारको सुविधाका लागि बीमा बढाउन लागिएको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
दुघर्टनाबाट घाइते यात्रुको उपचारका लागि न्यूनतम ५ लाख, मृत्यु भएमा १० लाख र मस्तिष्क घात भएमा १५ लाख रुपैयाँ दिने गरी छलफल भइरहेको उनको भनाइ छ ।
पछिल्लो समय सवारीले यात्रुलाई ठक्कर दिएर घाइते भएको अवस्थामा चालक वा सवारीधनीले गाडी पछाडि लगेर भए पनि यात्रुलाई मारेका उदाहरणहरू प्रशस्त भेटिन्छन् । । त्यस्तो प्रवृत्तिलाई रोक्न पनि बीमा शुल्क बढाउनु परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया