विप्लवका ४ कार्यकर्ता हतियारसहित रौतहटबाट पक्राउ

काठमाडौं । रौतहटबाट ‘विप्लव’ नेतृत्वको नेकपाका ४ जना कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।

जिल्लाको उत्तरीभेग चन्द्रपुर नगरपालिकाको तीन नम्वर वडा कार्यालय आगजनी गरे लगत्तै प्रहरीले बुधबार साँझ विप्लव समूहका चारजना कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्वर चार टेकान टोलका मानबहादुर वाइवा र राम बहादुर घिसिङ लगायत चारजना रहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको बयानको आधारमा बुधबार साँझ चन्द्रपुरको टेकानटोलस्थित वाइवा र घिसिङको घर खानतलासी गर्दा घिसिङको घरबाट एक थान स्वचालित पेस्तोल र एक थान नलकटुवा पेस्तोलसहित १० राउन्ड गोली बरामद भएको छ ।

वाइवा पूर्व माओवादी कार्यकर्ता हुन् भने घिसिङ विगत केही महिनायता विप्लव माओवादीका सहयोगी रहँदै आएका थिए । अन्य दुईजना बारे अनुुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?