राष्ट्रपतिले लिए चेतावनी, हिंसात्मक गतिविधि गरे सह्य नहुने

इरान, १७ पुस । इरानमा चार दिनयता सरकार विरोधी भएको प्रदर्शनपछि पहिलो पटक इरानका राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार रहेको जनाउँदै हिंसात्मक गतिविधि गर्ने हक भने नभएको बताएका छन् । उनले पहिलो पटक यस्तो प्रतिक्रिया दिँदै भने, तोडफोड वा सामाजिक अमनचयनमा खलल पुर्याउने कुनै पनि प्रयास सरकारका लागि सह्य नहुने चेतावनी दिए । त्यस्तै, अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अहिले इरानमा देखिएका समस्याको कारक भएको बताए । सरकार विरोधी प्रदर्शनहरु राजधानी तेहरानबाहेक अन्यत्र पनि फैलिरहेका छन् । यसैगरी, सन् २००९ मा भएका विशाल र्यालीयताकै सबैभन्दा ठूला विरोधका कार्यक्रमहरु हाल इरानमा भइरहेका छन् । कतिपय शहरहरुमा हिंसा भड्के र झडप भइरहेको छ भने इरानले आन्दोलनका लागि प्रयोग भएको भन्दै सामाजिक सञ्जालहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । अमनचयन कायम राख्न टेलिग्राम र इन्स्टाग्राम जस्ता एप्सहरुमाथि अस्थायी प्रतिबन्ध लगाइएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । देशको उत्तर–पूर्वबाट शुरु भएको आन्दोलनमा आर्थिक कठिनाइ र मूल्य वृद्धिसम्बन्धी मागहरु समावेश थिए । मूल्य वृद्धिबाट सुरु भएको प्रदर्शनले अहिले इरानका धेरै ठाउँमा यसले राजनीतिक रंग लिएको छ र आन्दोलनकारीहरुले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी, राष्ट्रपति रुहानी र इरानको हस्तक्षेपकारी क्षेत्रीय नीतिको विरोधमा नाराबाजी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?