काठमाडौं । गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका-५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो ।
टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा टावर रहेकै वडा निवासी लामिछानेमाथि शङ्का रहेकाले उनलाई घरबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
साउन १५ गते तिलाहारको थानाकोट मन्दिरको डाँडामा रहेको उक्त एनसेलको टावरमा आगजनी भएको थियो । आगलागीबाट टावरको केही भाग जलेर आंशिक क्षति भएको थियो ।
टावरमा कसले आगजनी गरेको भन्नेबारेमा थाहा नभए पनि विप्लव समूहको संलग्नता रहेको अनुमान गरेर संलग्न व्यक्तिको खोजी गरिएको प्रहरी निरीक्षक रायमाझीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया