काठमाडौंमा युवा उद्यमी सम्मेलन हुँदै

काठमाडौं । प्रदेश नं. ३ सरकारको अगुवाईमा काठमाडौंमा २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ ।
युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधन र सोचको विकास गराउने उद्धेश्यका साथ सम्मेलन हुन लागेको हो । आगामी साउन २७ र २८ गते देशभरका उद्यमशील सोच राख्ने युवाहरुको सहभागीतामा सम्मेलन आयोजना गर्न लागिएको प्रदेश ३ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले बताउनुभयो ।

कार्यक्रममा उद्यमशीलताको सम्भावना, आवश्यक स्रोतको व्यवस्थापन र सरकारी साथ एंव सहयोगका बारेमा छलफल हुनेछ । प्रदेश नम्वर ३ सरकारको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको आयोजना र आईएमई फाउण्डेसनको सह-आयोजना र राष्ट्रिय बाणीज्य बैंकको मुख्य प्रायोजनमा हुने कार्यक्रममा उद्यमी बन्नका लागि सीप, दक्षता, आत्मबिश्वास, पुँजी र लगानीको वातावरण चाहिने जस्ता कुराहरु बारे छलफल हुनेछ ।
उहाँले प्रदेश नम्वर ३ सरकार युवा उद्यमीहरुको लगानी बढाउन र समस्याहरु समाधान गर्न प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

सोहि समारोहमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले अन्तराष्ट्रिय युवा दिवशको अवसरमा आयोजना हुने युवा उद्यमशीलता सम्मेलन २०१९ उद्यम गर्न चाहने नेपाली युवाहरुका लागि महत्वपुर्ण प्लेटफम भएको बताउनुभयो । स्थानिय सरकार, प्रदेश सरकार, सरोकारवाला निकाय र निजी क्षेत्रको सहकार्यमा हुन लागेको कार्यक्रमले नेपाली युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्नुका साथै उद्यम गर्न चाहनेहरुका लागि लगानीको क्षेत्र पहिचानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनका मुख्य प्रायोजक समेत रहेको राष्ट्रिय बाणीज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्मेलनले ७७ वटै जिल्लामा रहेका युवाहरुका माझ सकारात्मक सन्देश जाने र यस्ता खाले सम्मेलनले देशभित्र र बाहिरका युवाहरुमा उद्यम गर्ने उत्साह र आत्मबिश्वास बढ्ने भएकाले वाणिज्य बैंक यो सम्मेलनमा साझेदार भएको जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने घोषणा समेत गर्नुभएको छ ।
सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले प्रादेशिक संरचनाभित्र युवा उद्यमशीलताका सम्भावना, अवसर र चुनौतिबारे बहस गरी निति निर्मातालाई सचेत गराउने, युवा उद्यमीहरुका सफलताका कथाहरु आदानप्रदान गर्ने र देशभरका उद्यमी बन्न चाहने युवालाई उत्प्रेरण दिने दृष्टिकोणले यो सम्मेलन सफल रहने विश्वास प्रकट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?