बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताउनुभएको छ ।

शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक, सामाजिक जागरणसहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गर्नुभएको हो । परिर्वतन निरन्तर अगाडि बढीरहने र पछाडि फर्किन नसक्ने भन्दै उहाँले इतिहास उल्ट्याउन गरिने प्रयास र तीनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याईने बताउनुभयो ।

उहाँले भन्नुभयो “जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाचडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्याईने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन । ”

उहाँले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पार्नुभयो । उहाँले पुराना सोच , संरचना, मुल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नया सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतनपक्षधरहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठुलो भूमिका रहेको भन्दै प्रभावकारी भुमिका निर्वाहका लागि आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?