कारगारको अवस्था सुधार गर्न सरकारलाई महान्यायाधिवक्ता खरेलको आग्रह

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले नेपालमा कारगारको अवस्था कष्टप्रद रहेको उल्लेख गर्दै त्यसमा तत्काल सुधार गर्न सरकारलाई सचेत गराएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले आईतबार काठमाडौंमा सार्वजनिक गरेको आफ्नो वार्षिक कार्य प्रगति विवरणमा नेपालमा कारगारको अवस्था कष्टप्रद रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्न सरकारलाई पटकपटक सचेत गराइएको उल्लेख गरिएको हो ।

मुलुकमा कारगारको अवस्था कष्टप्रद रहेको र कैदीहरुको अवस्था दयनीय रहेकाले त्यस अवस्था सुधार गर्न सरकारलाई आग्रह गरिएको महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले जानकारी दिनुभयो । उहाँले कैदी बन्दी धेरै तर कारगारको संख्या कम भएका कारण पनि समस्या थपिदै आएको पनि स्पष्ट पार्नुभयो । महान्यायाधिवक्ताको कार्यालयले मुलुकमा विद्यमान कारगारहरुको सुधारका लागि त्यसको अनुगमनको कामलाई चालू आर्थिक वर्षमा पनि निरन्तरता दिने पनि जनाएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले ‘सरकारी वकील र प्रहरीको दोस्रो राष्ट्रिय सम्मेलन’ आगामी मंसीरमा सम्पन्न गर्ने योजना पनि तय गरेको छ । मुलुकी संहिताको कार्यान्वयनको समिक्षा गर्न र अपराध, अनुसन्धान तथा अभियोजनको कामलाई थप प्रभावकारुी बनाउन सो सम्मेलन आयोजना गर्न लागिएको पनि महान्यायाधिवक्ता खरेलले बताउनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले अपराध अनुसन्धान र अभियोजनको कामलाई प्रभावकारी बनाउन सरकारी वकीलको कार्यालय अनुगमनको कामलाई पनि तीव्रता दिइएको पनि जनाएको छ । महान्यायाधिवक्ता खरेलले पीडितलाई न्याय दिन समुदायमा सरकारी वकील कार्यक्रम सुरु गरिएको पनि स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?