काठमाडौं । नेपाल टेलिकमले रोमिङ शुल्कमा भारी छुट दिएको छ । कम्पनीका जीएसएम मोबाइल ग्राहकका लागि उपलब्ध रोमिङ सेवामा सहुलियत प्रदान गरिएको हो ।
हाल टेलिकमले विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको छ । ती मध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको छ ।
कम्पनीले ०७६ बैशाख १६ देखि जिएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु चीन र भारतमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएको छ । जिएसएम प्रिपेड मोबाइल सेवामा कार्यान्वयनमा आइसकेको अन्तर्राष्ट्रिय रोमिङ सुविधा पश्चात भारतमा जाँदा नेपाल लगायत जुनसुकै मुलुकबाट आएको आगमन कलको शुल्क प्रतिमिनेट करसहित जम्मा १४ रुपैयाँ मात्र लाग्छ ।
यसैगरी भारतमा रहँदा उक्त सेवामार्फत नेपालमा वा भारतमा फोन गर्दा प्रतिमिनेट करसहित ३० रुपैयाँ लाग्नेछ भने जम्मा २४ रुपैयाँमा विश्वभर सन्देश पठाउन सकिनेछ । साथै निशुल्क सन्देश पनि प्राप्त गर्न सकिनेछ ।
यसका साथै उत्तरी छिमेकी मुलुक चीनमा रहेका बेला नेपालमा फोन गर्दा प्रतिमिनेट ९० रुपैयाँ र नेपाल लगायत विश्वका जुनसकै मुलुकबाट आगमन कलको शुल्क प्रतिमिनेट ५३ रुपैयाँ मात्र लाग्ने छ । यसैगरी चीनभरी जुनसुकै नम्बरमा (कम्पनीको जिएसएम प्रिपेड मोबाइलमा समेत) कुरा गर्दा प्रतिमिनेट ५० रुपैयाँ र त्यहाँबाट विश्वभर जम्मा ५४ रुपैयाँमा सन्देश पठाउन सकिने छ ।
कम्पनीले जीएसएम पोष्टपेड मोबाइलमा रोमिङ सुविधा उपलब्ध गराउँदा राखिने न्यूनतम धरौटी शुल्कलाई ३० हजारबाट घटाएर १० हजार रुपैयाँ मात्र कायम गरेको छ । साथै कम्पनीका जिएसएम प्रिपेड मोबाइल सेवा प्रयोगकर्ताले थप धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न सक्नेछन् ।
रोमिङ सुविधा लिएपछि नेपाल टेलिकमका जीएसएम मोबाइल प्रयोगकर्ताले विभिन्न देशमा गएको समयमा नेपाल लगायत विश्वभरका मुलुकमा फोन गर्न, आएको फोन उठाउन, सन्देश पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थानीय मोबाइल अपरेटरका नम्बरमा पनि कुरा गर्न र सन्देश आदानप्रदान गर्न सकिनेछ ।
प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा लिनका लागि *1415# डायल गर्नुपर्दछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी सेवा लिन सकिन्छ । पोष्टपेड मोबाइलमा सुविधा लिनका लागि कम्पनीको नजिकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया