दुई फरार बलात्कार आरोपित पक्राउ

काठमाडौं । पाँचखाल नगरपालिकास्थित दुई स्थानमा भएका दुई बलात्कार घटनाका फरार आरोपितलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ ।

पाँचखाल नपा-४ शिखरपुरमा डेरागरी बस्ने ३१ वर्षका सुनबहादुर लामाले घरधनी महिलालाई गत जेठ २३ गते राति १ बजे जबर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट लामाले ती महिलालाई पटक–पटक धम्क्याएर अन्तिमपटक असार २६ गते जबर्जस्ती करणी गरेका थिए ।

“मेरो परिवारलाई भोज छ भनी बोलाएर खुवाइसकेपछि म सुतिरहेको अवस्थामा राति १ बजे जबर्जस्ती ग-यो, कसैलाई भने मारिदिन्छु भनेर पटक–पटक धम्क्याएर जबर्जस्ती गरिरहेपछि सहन नसकी प्रहरीकोमा उजुरी गरेँ” ३३ वर्षीया पीडित महिलाले भन्नुभयो ।

लामा उक्त घरमा विसं २०७२ देखि डेरा गरी बस्दै आएका थिए । घटनापछि पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि लामा फरार अवस्थामा रहेका थिए । प्रहरीले सोमबार लामालाई पक्रेर मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, पाँचखाल नपा-१ अनैकोटका ५७ वर्षीय इमानसिं तामाङले गत असार १३ गते बिहान आफ्नो बारीमा मकै गोड्न बोलाएर स्थानीय ३७ वर्षकी महिलालाई जबर्जस्ती गरी फरार रहेकामा प्रहरीले उनलाई गत आइतबार पक्राउ गरेको छ ।

प्रहरीले पीडितको बयान उद्धृत गर्दै बिहान ९ बजे उनकै बारीमा मकै गोडिरहेको अवस्थामा मुख थुनेर जबर्जस्ती करणी गर्दा चिच्याएर हारगुहार गरेपछि गाउँले आउँदा तामाङ भागेका थिए ।

तामाङलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासत राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?