एजेन्सी । अफ्रिकी मुलुक सुडानका विपक्षीहरुले नयाँ बन्ने सङ्क्रमणकालीन सरकारको प्रधानमन्त्रीमा विपक्षीहरुका तर्फबाट अब्दल्ला हाम्डोकको नाम प्रस्ताव गरेका छन् । अब्दल्लालाई बिहीबार मुख्य विपक्षी फ्रिडम एन्ड चेन्ज एलायन्सका तर्फबाट सर्वसम्मत रुपमा चयन गरिएको हो ।
सुडानी पेशाकर्मी संघले एक विज्ञप्ति जारी गरी डा अब्दल्ला हाम्डोकको नाम सर्वसम्मत रुपमा चयन गरिएको जनाएको छ । सुडानी सेना र आन्दोलनकारी पक्षबीच नयाँ सङ्क्रमणकालीन सरकार तीन वर्ष तीन महिना सञ्चालन गर्ने यसअघि सहमति भएको थियो ।
खार्तुम विश्वविद्यालयबाट बिएस्सी र बेलायतको म्यान्चेस्टरबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएका हाम्डोकले सन् १९८० को दशकमा अर्थ मन्त्रालयमा वरिष्ट अधिकारीका रुपमा कार्य गरिसक्नु भएको छ ।
सन् १९९० को दशकमा हाम्डोकले निजी कम्पनीका साथै जिम्बाब्बेमा अन्तर्राष्ट्रिय श्रम संगठनका तर्फबाट वरिष्ट अधिकारीका रुपमा काम गर्नुभएको थियो । उहाँसँग आइभरीकोष्टमा अफ्रिकी विकास बैंकमा धेरै वर्ष काम गरेको अनुभव छ ।
सन् २०१८ सेप्टेम्बरमा हाम्डोकलाई पूर्व राष्ट्रपति ओमार अल–बासिरले अर्थमन्त्रीका रुपमा प्रस्ताव गर्नुभएको थियो, तर उहाँले बासिरको प्रस्तावलाई अस्वीकार गर्नुभएको थियो ।
विपक्षी गठबन्धन र संक्रमणकालीन सैनिक परिषद (टीएमसी) ले शनिबार विशेष कार्यक्रमबीच राजनीतिक एवं संवैधानिक व्यवस्थाका बारेमा घोषणा हुनेछ ।
आगामी सोमबार सम्झौता बमोजिम नयाँ सरकारले सपथ ग्रहण गरेसँगै संक्रमणकालीन सैनिक परिषद विघटन हुनेछ । प्रधानमन्त्रीको आगामी अगष्ट २० तारिखमा नियुक्त हुने र त्यसको भोलिपल्ट सपथ गर्नुहुनेछ ।
त्यसपछि अगष्ट २८ मा नयाँ सरकारका मन्त्रीहरुको नाम सार्वजनिक गरिनेछ । संविधान बमोजिम गठन हुने सार्वभौम परिषदमा ११ जना सदस्य रहनु हुनेछ जसमा पाँच जना नागरिक तहबाट, पाँच जना सैनिक र एक जना मनोनीत हुनेछन् ।
मन्त्रिपरिषदमा २० जना हुनेछन् जसमा रक्षा र गृहमन्त्री बाहेक फ्रिडम एन्ड चेन्ज एलायन्सबाट मनोनीत गरिनेछन् । यी दुई मन्त्रालयको जिम्मेवारी सेनाले लिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया