विद्युत् प्राधिकरणका कर्मचारीहरुलाई बोनस दिइने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३४ औ बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको छ ।

आईतबार प्रज्ञाप्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औ बार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभएको हो ।

उहाँले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिईने बताउनुभयो । निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि बृद्धि गरिएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी महंगी भत्ता बापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने भएका छन् । यसअघि प्राधिकरणले कर्मचारीहरुको मंहगी भत्ता रोकेको थियो । मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो बर्ष गौरवको र उपलब्धिको बर्ष भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

प्राधिकरणले आर्थिक बर्ष २०७५÷७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ ।

उर्जामा उल्लेख्य सफलता प्राप्त गरेको र गौरवको बर्ष भन्दै मन्त्रीले खुसी व्यक्त गरिरहदा उहाँले नै सम्बोधन गरेको समयमा विद्युत् आपुर्तिमा अवरोध भएको थियो । मन्त्रीको सम्बोधनको क्रममा दुई पटक सम्म ठुलो आवाज आउदै विद्युत अवरोध हुदै गरेको थियो । उर्जा मन्त्री नै बोल्ने क्रममा विद्युत् आपुर्तिमा अवरोध देखिएपछि दर्शक दीर्घामा बसेकाहरुले हुटिङ गरेका थिए ।

केही समय अघि प्रतिनिधिसभाको बैठकमा उर्जामन्त्री पुनले सम्बोधन गर्ने क्रममा पनि विद्युत् आपुर्तिमा अवरोध आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?