काठमाडौं । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका-४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ ।
घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग तीन लाख मागेको बयानमा उल्लेख छ ।
केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिनुभयो ।
स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आफ्नै पतिको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा एक लाख ७० हजार र ३० हजार आफ्नी सासूलाई भैँसी किन्न दिएको बयानका क्रममा खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया