काठमाडौं । नेपाली ध्वजा बाहक विमानले यही महिना देखि काठमाडौँ जापान सिधा उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ ओसाका काठमाडौँ उडान हुने बताएको हो । आगामी भदौ १२ गतेबाट जापानको ओसाकामा नियमित उडान गर्ने तयारी गरिरहेको निगमले टोकियोमा पनि उडान गर्ने भएको नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले जानकारी दिनु भयो । निगमले साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने तालिका रहेको छ । काठमाडौं ओसाकाको उडान समय ६ घण्टा ३० मिनेटको हुने निगमले बताएको छ ।
यस्तै काठमाडौँ देखि जापानको नारिता विमानस्थल सम्मको उडान सम्बन्धमा पनि धेरै प्रक्रियागत कामहरु भैसकेको निगमले बताएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष खरेलले आगामी जनवरीको पहिलो साता काठमाडौँ टोकियो काठमाडौँ उडान हुन सक्ने बताउनु भयो । नारिता विमानस्थलमा उडान गर्न निगमले पठाउनु पर्ने आवश्यक सम्पूर्ण कागजातहरु पठाइसकेको अध्यक्ष खरेलले जानकारी दिए ।
निगमले वाईडबडी ल्याएको करिब १४ महिनापछि नयाँ गन्तव्यमा उडान गर्न थालेको हो । निगमले ओसाकामा हुने सबै उडान वाइडवडी ए ३३०–२०० बाट हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया