काठमाडौं । संसदीय समिति र सम्बन्धित मन्त्रालयबीचको सामान्य बुझाइमा अन्तर हुँदा सरकारले ल्याएका विधेयक प्रभावित हुने गरेका छन् ।
सरकारले मुलुकको औद्योगिक वातावणलाई लगानीमैत्री तथा प्रतिस्पर्धी बनाउने उद्देश्यले ल्याएको औद्योगिक व्यवसायसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा आज प्रतिनिधिसभाको उद्योग तथा वणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समिति सभापति र उद्योगमन्त्रीको बुझाइमा अन्तर हुँदा छलफल नै प्रारम्भ हुन सकेन् ।
बैठकको शुरुआतमा नै उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले आफू अनुपस्थित भएको बेला विधेयकका केही दफा पारित गरिएको भन्दै गुनासो गर्नुभएको थियो । लगत्तै समिति सभापति बिमल श्रीवास्तवले त्यसदिनको बैठकमा मन्त्री अनुपस्थित भए पनि मन्त्रालयका सचिवलगायत कर्मचारीलाई बोलाएर छलफल गरिएको बताउनुभएको थियो ।
झण्डै डेढ घन्टा चलेको बैठकमा एक अर्काबीच गुनासोको दोहोरी चलेपछि कार्यसूचीमाथि छलफल नै हुन सकेन । आजको बैठकमा औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने कार्यसूची राखिएको थियो ।
मन्त्री र सभापतिको गुनासो सुनेका समितिका सदस्य पनि मन्त्री र सभापतिलाई सम्झाउन नै व्यस्त देखिन्थे । बैठकमा समितिका सदस्य देवेन्द्र पौडेलले कुनै पनि विवाद नगरी आसपसी विश्वासका आधारमा अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।
समिति सदस्य बिन्दा पाण्डेले समितिबाट विधेयकले अन्तिम रुप नपाएसम्म जुनसुकै दफामाथि पुनः छलफल गर्न सकिने बाटो खुला रहेको बताउनुभयो । विधेयकलाई अन्तिम रुप दिन भन्दै यही भदौ २ गते पनि बैठक राखिएको थियो ।
उद्योगमन्त्री यादव उपत्यका बाहिर रहेकाले सो दिन बैठक स्थगित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया