काठमाडौं । बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताउनुभयो ।
उहाँका अनुसार शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई सफल बनाउन ‘हाइमास्ट लाइट’ जडान गरिने बताउनुभयो ।
कोहलपुर क्षेत्रका आम नागरिकले कोहलपुर नगरलाई सुन्दर र उज्यालो बनाउन नगरपालिकासँग पटक–पटक अनुरोध गरेअनुसार नगरपालिकाले शहरी विकास मन्त्रालय, कोहलपुर नगर विकास समितिलगायत सरोकारवाला निकायसँगको समन्वयमा हाइमास्ट जडान गर्ने कार्य अघि बढाएको प्रमुख रावतको भनाइ छ ।
बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय विपीचोकमा केही महीनाअघि हाइमास्ट जडान गरेको थियो । उक्त हाइमास्टले विपीचोक क्षेत्रको सुन्दरता बढाउनुका साथै रातिको समयमा पनि पैदलयात्रुदेखि सवारीसाधनलाई सडक पार गर्न सहज भएको छ । यही कामलाई पछ्याउँदै कोहलपुरमा पनि हाइमास्ट जडान गर्ने प्रक्रिया अघि बढाएको हो ।
“यसका लागि नगरपालिकाले बोलपत्र आह्वान गरी ठेक्का सम्झौतासमेत गरिसकेकाले अबको केही साताभित्रै हाइमास्ट जडानको काम अघि बढ्नेछ”, प्रमुख रावतले भन्नुभयो । नगरपालिकाका प्रमुख रावत र शहरी विकासमन्त्री राईबीच भएको छलफलमा कोहलपुर नगरपालिका क्षेत्रभित्र ५०० व्यक्ति अट्ने सिटीहलको निर्माणसमेत गर्ने विषयमा सहमति भएको छ ।
सिटीहल निर्माणबारे यसअघि पनि पटक–पटक छलफल हुँदै आएको थियो । सिटीहलका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत यसअघि तयार भए पनि सरोकारवाला निकायले चासो नदेखाउँदा हालसम्म सिटीहल निर्माणको कामले गति लिनसकेको थिएन ।
नगरपालिकामा जनप्रतिनिधिको पनि हालसम्म चासोमा नपरेको सिटीहल निर्माणले गति लिएको नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूले बताउनुभयो ।
कोहलपुरको समग्र विकासमा सिटीहल र हाइमास्ट जडानले थप मद्दत गर्ने भन्दै उहाँले जनचाहना र मागअनुसार नै विकास निर्माणका गतिविधिलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।
सिटीहल निर्माणमा १० करोड लाग्ने अनुमान गरिएको छ । कोहलपुर नगरपालिका-११ स्थित नगर विकास समितिको दुई बिघा जग्गामा सिटीहल निर्माण हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया