पुडासैनी मृत्यु प्रकरणः प्रहरी भन्छ, ‘भिडियो बाहेक अरु पनि प्रमाण छन्’ !

काठमाडौं । प्रहरीले शालिकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानका क्रममा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाण अदालतमा पेश गरेको छ । केन्द्रीय अनुसन्धान व्यूरोबाट घटनाको अनुसन्धान गर्न गएका एसपी दिपक रेग्मीले आइतवार भएको पत्रकार सम्मेलनमा सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने जानकारी दिनुभयो ।

‘दिवंगत पुडासैनीले बोलेको भिडियो मात्र प्रमाण हो या अन्य पनि प्रमाण छ?’ भनेर पत्रकारले सोधेको प्रश्नमा एसपी रेग्मीले अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने बताउनुभयो ।

प्रहरीले लामिछानेसहित ३ जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो । सरकारी वकिलले आजै अदालतमा मुद्दा दर्ता गरेमा अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको बहस हुने बताइएको छ । लामिछानेसहित ३ जनालाई साउन ३० गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?