छिमेकीलाई खुकुरी प्रहार गर्ने २ युवक पक्राउ

काठमाडौं । दाङमा छिमेकीलाई खुकुरी प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादको कारण घोराही उपमहानगरपालिका-१५ बस्ने १८ वर्षीय त्रिशक्ति बर्तौलालाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ कचोक बस्ने २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरी रहेका छन् । उनीहरुले खुकुरी प्रहार गर्दा घाइते भएका बर्तौलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले हमाल र चौधरीलाई खुकुरीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?