काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०७५ र ७६ मा बेरुजु फछ्र्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
नेपाली सेनाको नाममा कायम भएको कूल नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा छ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फछ्र्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
आव २०७५ र ७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६ दशमलव ३६ बेरुजु फछ्र्योट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उहाँले बताउनुभयो ।
नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फछ्र्योट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ । सेनाको कल्याणकारी कोषतर्फको बेरुजुु ७० करोड २० लाख ९३ हजार रहेकामा उक्त आवमा ४४ करोड २० लाख ६० हजार फछ्र्योट गरी ६२ दशमलव ९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ ।
पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फछ्र्योटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया