न्यून दृष्टियुक्त व्यक्तिलाई दैनिक जीवन यापन गर्न कत्ति असहज होला ? यो सहजै अनुमान गर्न सकिन्छ । अझ लामो दूरी र ठूलठूला पहाड चढ्ने कुरा त अधिकांश मानिसहरुका लागि कल्पना बाहिरको कुरा हो । तर न्यून दृष्टियुक्त भएर पनि अमिट केसी विश्वकै सर्वाेच्च शिखर सगरमाथा चढ्ने सपना देखि रहनुभएको छ । दुई वर्ष पहिले सगरमाथाको आठ हजार मिटर उचाई पुगेर फर्किएका बागलुङ जैमिनी नगरपालिका–४ सर्कुवाका न्यून दृिष्टयुक्त केसी पुनः सगरमाथा चढ्ने लक्ष्य लिनुभएको छ । दुई वर्ष अघि सगरमाथा चढ्न जानुभएका केसी साउथ पोलमा पुगेर अक्सिजन सकिएपछि फर्किनुभएको थियो ।
आठ हजार मिटरको साउथ पोलमा मौसम खराबीले २४ घण्टासम्म बस्नुपरे पछि उहाँको अक्सिजन सकिएको थियो । तत्काल अक्सिजन थप्न दुई हजार डलर लाग्ने भएपछि पैसा र तत्कालै अक्सिजन नपाएर उहाँलाई फर्किनुपरेको थियो । केसीले आगामी वैशाखमा सगरमाथा चढ्ने तयारी थाल्नुभएको छ । पहिलो पटक दुई वर्षअघि चढ्न जाँदा प्राविधिक कारणले चुचुरोमा पुग्न नसकेर फर्किनुपरे पनि यस पटक चुचुरो पुग्ने सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।
विश्वमा नेपालको नाम उच्च राख्न र आफूजस्तै अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्न आफूले सगरमाथा चुचुरोमा पुग्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । यसअघि न्यून दृष्टियुक्त व्यक्ति अमेरिकी नागरिक ‘एरिक एहिङ मेयर’ले सगरमाथाको आठ हजार ८०० मिटर उचाइमा पुगेर फर्केको रेकर्ड छ । अघिल्लो वर्ष सरकारले कानून संशोधन गरेर सगरमाथा चढ्न रोक लगाएपछि उहाँ निरास हुनुभयो र सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले पनि सगरमाथा चढ्न पाउने फैसला गरेको थियो । पर्वतारोहण नियमावलीको नियम ३ संशोधन नगर्न रिट परेपछि संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्ति पनि सगरमाथा चढ्न पाउने फैसला गरेको हो ।
समानताको हकविपरीत सरकारले नियम संशोधन गरेको भन्दै केसीले रिट दायर गर्नुभएको थियो । सबै प्रकारका प्रशिक्षण लिइसकेको, अन्य साना हिमाल पनि चढेको र सगरमाथाको पनि आठ हजार मिटरमा पुगेकाले सरकारको अनुमति पाएपछि जान सक्ने केसीले बताउनुभयो ।
“पैसाको समस्या हो, जुटाएपछि जाने योजना छ”, केसीले भन्नुभयो, “६० हजार अमेरिकी डलर भए बन्दोबस्तीका सामग्री, गाइड खर्च र खानासमेत पुग्छ ।” त्यसका लागि उहाँ अहिले आर्थिक सङ्कलन अभियानमा जुट्नुभएको छ । घरपरिवारबाटै बोझ सम्झने अपाङ्गता भएका व्यक्तिलार्ई सबैको प्रेरणाको स्रोत बनाउन सक्नुपर्छ भनेर उहाँले साहसिक कदम उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले चाहेको कुरा म पुरा गर्न सक्छु भन्ने आत्मविश्वास पनि बढेको छ । ”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया