काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत उपचार जारी राखिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीसँगै सिंगापुरमा रहेका रिमालले ट्विट गर्दै प्लाज्मा फेरेसिस प्रक्रियाबाटै उपचार भइरहेको जानकारी दिनुभएको हो ।
प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलामा एन्टिबडीको मात्रा बढेपछि चिकित्सकले प्लाज्मा फेरेसिस् प्रक्रियामार्फत गत शुक्रबारदेखि उहाँको उपचार थालेका थिए ।
प्लाज्मा फेरेसिस् उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।
मिर्गौला समस्याबाट पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत साता सिंगापुर प्रस्थान गर्नुभएको थियो । उहाँको अहिले नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ । विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उहाँको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया