नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब

काठमाडौं । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ ।

एकसय ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ ।

आर्थिक वर्र्ष २०७५-७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको हो ।

दुर्गम पहाडी क्षेत्रका महिलाले संस्थागत सुत्केरी गराएवापत पाउने रु तीन हजार र नियमति चारपटक गर्भ जाँचवापतको २०० का दरले ८०० गरी तीन हजार ८०० सहित न्यानो झोला पाउने व्यवस्था गरिएको थियो ।

गत चैत १ गते सुत्केरी गराए पनि उक्त भत्ता नपाएको पाण्डुसैनकी बिउरा रावलले बताउनुभयो । उक्त नगरपालिकामा मात्रै १८८ महिलाले सुत्केरी गराएवापतको रकम पाएका छैनन् ।

तीमध्ये कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १३६, पाण्डुसैन स्वास्थ्यचौकीमा ३४ र बाँधु स्वास्थ्यचौकीमा १८ ले सो भत्ता नपाएका हुन् । उक्त रकम नगरपालिकामा आइसके पनि स्वास्थ्य संयोजकसहितको टोलीले खबर नगरेको आरोप सम्बन्धित स्वास्थ्यचौकीले नै लगाएका थिए ।

सोही नगरपालिका-८ की आरती धामीले पनि उक्त भत्ता नपाएको गुनासो गर्नुभयो । स्वास्थ्य शाखामा काम गर्नेहरुले माथिबाटै पैसा नआएको भनेकाले आफूहरुले पनि त्यही होला भन्ने सोचेर बसेको पाण्डुसैन स्वास्थ्यचौकीका इन्चार्ज नृपराज गिरीले बताउनुभयो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १५४ ले सो भत्ता लिएको देखिए पनि अन्य कुनै पनि सुत्केरीले पाएका छैनन् । स्वास्थ्य संयोजककै लापरवाहीले उक्त भत्ता नपाइएको अधिकांशको गुनासो छ ।

संयोजक जसी लुहारले भने सबैलाई पुग्ने गरी रकम नआएकाले आधा पैसा नबाँडेको बताउनुभयो । कतिलाई सो भत्ता दिन बाँकी छ भन्दा उहाँले नै अपुग सङ्ख्याबारे जानकारी नभएको बताउनुभयो ।

संयोजक लुहारले रु १३ लाख ५० हजार मात्र आएको बताए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुझ्दा भने रकम त्योभन्दा थप रु १५ लाख नगरपालिकामा पठाइ सकिएको जनाएको थियो ।

मन्त्रालयका योजना शाखा प्रमुख सूर्य खड्काले भने पहिलोपटक १३ लाख ५० हजार, दोस्रोपटक आठ लाख ९० हजार र तेस्रोपटक जेठ १७ गते आठ लाख ९० हजार गरी कूल रु २८ लाख ५० हजार उक्त नगरपालिकामा मात्र पठाइएको जानकारी दिनुभयो । नगरपालिकाका पदाधिकारी तथा स्वास्थ्य संयोजले भने यसबारे कुनै जवाफ दिएनन् ।

प्रदेशको सम्बन्धित मन्त्रालयले असारमै उक्त भत्ता कम भए माग गर्न स्थानीय तहलाई सूचित गरेकामा कसैले पनि माग नगरेको बताइएको छ ।

उक्त नगरपालिका उपप्रमुख सृष्टी रेग्मीले पनि आफूलाई थप पैसा आएकोबारे जानकारी नभएको र संयोजकले पैसा अपुग भएर नदिएको भन्ने मात्र खबर गरेको बताउनुभयो ।

नगरपालिका निमित्त प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले आफूहरुलाई पैसा अपुग रहेको जानकारी मात्र गराइएको थप पैसा आए/नआएको थाहा नभएको जानकारी दिनुभयो । सुत्केरी भत्ता त्रिवेणी नगरपालिकाका ७७ र खप्तड छेडेदहका ३० जनाल नपाएको बताइएको छ ।

बूढीगङ्गा नगरपालिकाले थप भत्ता माग गरेकामा रु चार लाख खर्च नभएपछि फिर्ता पठाइएको त्यहाँका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिनुभयो बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकाका सबै सुत्केरी महिलाले भने उक्त भत्ता पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?