मोरङ-विराटनगरका विभिन्न स्थानमा डाँका गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१ बाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार मधुवनी बस्नेहरु ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता तथा ४४ वर्षीय मो.मोतिउर रहमान, रौतहट गौर नगरपालिका-३ पोखरिया बस्नेहरु ४१ वर्षीय मो.मोहिज धुनियाँ तथा ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका-४ बस्नेहरु ५२ वर्षीय सेख मो.सलिफ र ४६ वर्षीय शेख अलि असगर रहेका छन् ।
उनीहरुको साथबाट बिआर ३२ पिए २८३६ नम्बरको स्करपियो गाडी, विभिन्न कम्पनीका मोबाइल ७ थान, नेपाली नगद १२ हजार ८ सय ५० रुपैयाँ, भारतीय नगद ११ हजार ४ सय १० रुपैयाँ, नेपाली सिमकार्ड १ थान, भारतीय सिमकार्ड ९ थान, फलाम काट्न प्रयोग हुने कटर मेसिन १ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
मोरङ विराटनगर महानगरपालिका-२ शनिहाटमा रहेको पन्चकन्या ट्रेड लिंकमा गत साउन २३ गते सटर फुटाई ५ लाख ९५ हजार रुपैयाँ, सोही महानगरपालिकामा रहेको गणनायक मार्केटिङ हाउस (किराना पसल) बाट सोही दिन सटर फुटाई ४ लाख रुपैयाँ, सोही महानगरपालिका-७ कदमाह कृषि सहकारी संस्था लिमिटेडमा भदौ १ गते सटर फुटाई ४ लाख ९५ हजार रुपैयाँ र विराटनगर महानगरपालिका-७ स्थित माँ भवानी ईन्टरप्राईजेजबाट भदौ १० गते सटर फुटाई ६ लाख रुपैयाँ डाँका गरी लगेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा अभियुक्तहरूले भारत सीतामढीमा विराटनगरमा डकैती गर्ने योजना बनाई नेपाल प्रवेश गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को चोरी तथा डाँका सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया