युवतीलाई विवाहको प्रलोभनमा पारी चीनमा तस्करी, ४ चिनियाँ नागरिकसहित १० जना पक्राउ

काठमाडौं । नेपाली युवतीलाई विवाहको प्रलोभनमा पारी चीनमा तस्करी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ४ जना चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन् ।

त्यस्तै, चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ छन् । प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले ४ जना पीडित महिलाहरुको उद्धार समेत गरेको छ ।

ब्युरोका प्रमुख एसएसपी ईश्वर कार्कीका अनुसार चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लग्ने गरेको देखिएको छ ।

उनका अनुसार अभियुक्तको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?