प्रधानमन्त्रीलाई पूर्वराज्यमन्त्रीकाे मन छुने पत्र ‘मेरो अस्तित्व कहाँ छ ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रिय सदस्य, पूर्वराज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई मन छुने पत्र पठाउनुभएको छ । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यासित हारबाट गुज्रिँदा पनि पार्टीले खासै वास्ता नगरेको, पार्टीको आन्तरिक सांगठनिक अवस्था, आफुले काम गर्दा आइपरेका चुनौति तथा संभावनाका विषयमा समेत संवोधन गर्दै प्रधानमन्त्री ओलीलाई पत्र पठाउनुभएको हो ।

चौधरीले पठाएको पत्रमा पार्टीमा आफुले दिएको योगदानको चर्चा मात्र गरिएको छैन, मुलुकको समसामयिक अवस्था, पार्टीको अवस्था र आफ्नो क्षेत्रका कार्यकर्ता र जनताका अपेक्षा समेत समेटेर बुँदागत रुपमा आफ्ना विचार ब्यक्त गर्नुभएको छ ।

गत साउनमै तयार पारिएको पत्रको पहिलो बुँदामा पहिलो संविधान सभा सदस्य समेत रहेका चौधरीले आफु समाजसेवा र महिला मुक्तिका खातिर किन लागेको भन्ने दर्शाएकी छिन् । सुनसरीमा जन्मिएपनि दाङमा विवाह भएको दर्शाउँदै जन्मभूमी प्रतिको मायाले सुनसरीमै आएर काम गर्न प्रेरित गरेको बताउनुभएको छ । चौधरीले आफु मध्यम स्तरको शिक्षित परिवारमा जन्मन पाएको उल्लेख गर्दै आफ्नो समुदायमा आर्थिक, सामाजिक तथा राजनीतिक रुपले पछि परेका धेरै महिला तथा युवाहरु रहेको उनीहरु रोजगारीकै लागि लाखौं खर्च गरेर विदेश पलायन भइरहेको, अनेक दुखः कष्ट भोगिरहेको देखेपछि ति उत्पिडित, दलित, मुस्लिम, थारु, अल्पसंख्यक समुदायका महिला तथा युवाहरुलाई आर्थिक रुपमा अगाडी बढाउन गैरसरकारी संस्था मार्फत सचेतना फैलाउँदै लघुवित्त कार्यक्रम चलाएर उनीहरुको जिवनस्तर उकास्ने काम गरिरहेको बताउनुभएको छ ।

चौधरीले आफ्नो नेतृत्वमा सञ्चालित फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था देशका ४० जिल्लामा करिब अढाई लाख महिला माझ पुगेको स्मरण गराउँदै उनीहरुको आर्थिक, सामाजिक तथा राजनीतिक स्तर उकास्न समेत सक्रिय भूमिका खेलेको प्रधानमन्त्रीलाई स्मरण गराउनुभएको छ ।

नेतृ चौधरीले दोस्रो बुँदामा आफुले लघुवित्त कार्यक्रम चलाईरहँदा राजनीतिक रुपमा पार्टीको काममा समेत दत्तचित्त भएर लागेको स्मरण गराउनुभएको छ । चौधरीले आफ्नो निःस्वार्थ स्वरोजगार अभियानबाट प्रेरित भएर पार्टीले पहिलो संविधानसभा सदस्य समेत बनाएको तथा आफुलाई विस्वास गरेर वन तथा भूसंरक्षण राज्यमन्त्री समेत बनाएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

चौधरीले आफुले प्रथम संविधान सभा सदस्यमा रहेर मस्यौदा बनाउने क्रममा नियमित रुपमा उपस्थिति जनाउदै संविधानमा महिलाहरुका हक–हित, यूवा स्वरोजगार, स्थानीय स्तरमा श्रोत र पूंजिको विषयमा, सुलभ स्वास्थ्य, शिक्षा, विपन्न वर्गको लागि विशेष ध्यान दिनु पर्ने र समयमा सँविधान बन्नु पर्ने जस्ता महत्वपूर्ण विषयममा आफुले खेलेको भूमिकालाई मूर्तरुप दिन हरप्रयास सकारात्मक भुमिका निर्वाह समेत गरेको स्मरण गराउनुभएको छ । साथै उहाँले संविधानसभा सदस्य तथा राज्यमन्त्री भएकै बेलामा पनि आफु पार्टी सुदृढिकरणको काममा दत्तचित्त भएर लागि परेको समेत उल्लेख गर्नुभएको छ ।

सुनसरी ३ नं. निर्वाचन क्षेत्रमा सूर्यको झण्डा मात्र बोक्दा कुटाई खाने ठाउँ, एमाले अर्थात कम्यूनिष्ट भनेर सुन्न नचाहने ठाउँ जहाँ नेपाली कांग्रेसको हप्कीदप्की चलेको क्षेत्रमा आफु र आफ्ना कार्यकर्ताले दिलो ज्यान दिएर संगठन निर्माण गरेको समेत बताउनुभएको छ । पार्टीले आफुलाई ७० सालको संविधानसभा, ७४ सालको संसदीय निर्वाचनमा उम्मेदवार बनाउँदा पार्टी संगठन कमजोर, गुट र व्यक्तिवादी अन्तरघात हुँदाहुँदै पनि हामीले आँट नगरे कसले र कहिले गर्ने भन्ने सोच लिएर महिला भनेपछि हेय दृष्टिकोणले हेर्ने समाजलाई परिवर्तन गर्न, त्यस ठाउँको आर्थिक तथा सामाजिक परिवर्तन गर्न, महिला तथा यूवा स्वरोजगार लगायत पार्टीको लक्ष्य र एजेण्डा बोकी इमान्दारिताका साथ जनतामा भिजेको उहाँको भनाई छ ।

पार्टी र जनताका लागि इमान्दार भएर दिलोज्यान दिएपनि ४० वर्षदेखि नेपाली कांग्रेसको षड्यन्त्रको राजनीतिमा रुमलिएको स्थानमा आफुलाई तत्कालीन सत्ता पक्षधर विपक्षीले विभिन्न जालझेल गरेर हराउन, मतपेटिका पुर्याउन जाने कार्यकर्तालाई घेरी कुटपिट गरेको, निर्वाचन अधिकृत समेतलाई किनेर दुइवटै निर्वाचनमा आफुलाई जनताको अत्याधिक मत हुँदाहुँदै हराएको दाबी गर्नुभएको छ ।

चौधरीले तेस्रो बुँदामा २०७० साल अघिका निर्वाचनमा पार्टीले उक्त क्षेत्रमा मुस्किलले ५ हजार भोट पनि हाँसिल गर्न नसकिरहेको पिडादायी राजनीतिक अवस्था रहेको अध्यक्षलाई स्मरण गराउँदै उक्त क्षेत्र कहिले नेपाली कांग्रेसको कहिले फोरमको नाममा राजनीति गर्दै आएका विजयकुमार गच्छदारको हालिमुहाली रहेकोमा आफ्नो उपस्थितिले गच्छदारको राजनीतिक हालिमुहाली धर्मराएको समेत जिकिर गर्नुभएको छ ।

भगवती चौधरीले ०७० सालमा आफ्नो उम्मेद्वारी उपप्रधानमन्त्री र पटकपटक मन्त्री भएको अनुभवी राजनीतिक खेलाडीसँग प्रतिष्पर्धा भएपनि आफ्नो पक्षमा परीवर्तनको चाहना बोकेको युवा र महिलाहरुको दरिलो साथ रहेको बताउनुभएको छ ।

उहाँले चौथो बुँदामा आफुलाई गच्छदारले प्रहरी प्रशासनदेखि निर्वाचन अधिकृत र राज्य संयन्त्र नै प्रयोग गरेर पराजित गरेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीलाई पठाइएको पत्रमा भारी मात्रामा नेकपा एमालेको जनलहर हुँदाहुँदै गच्छदारले आफु विरुद्ध सबै खाले संयन्त्र दुरुपयोग गरेको जिकिर गर्नुभएको छ । दोस्रो संविधानसभा निर्वाचनमा आफुले कूल खसेको मत मत ५३,४१९ मध्ये ३,८५२ बदर गरेकोमा नेकपा एमालेको २८०० मत बदर गरिदिएको बताउनुभएको छ ।

‘लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले १७,५२४ र मेरा पक्षमा १७,१६२ मत प्राप्त भयो । कुल ३६२ को अन्तर मत १८२ नाटकीय ढँगबाट हार व्यहोर्नु प¥यो । अर्कोतर्फ कुल बदर ३,८५२ मध्ये २८०० एमाले पक्षमा अर्थात सूर्य देखे पनि मधुरो र दोहोरो छाप भनि बदर देखाईयो । एमालेको पक्षमा १८२ को अन्तरले पराजय भए पनि २८०० मत बदर हुनुलाई कानूनी हिसाबले पराजय भएको र गणितीय हिसाबबाट जनताले जिताएको तथ्य जगजाहेर छ ।’ नेतृ चौधरीले उल्लेख गर्नुभएको छ । ‘जनताले त साथ दिए तर समय, परिस्थिती प्रशासन तथा निर्वाचन आयोगले साथ दिएन ।’

चौधरीले गच्छदारले २०७० को परिदृष्य ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समेत दोहोर्याएको स्मरण गराउनुभएको छ । उहाँले ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गच्छदारले निर्वाचन अधिकृत, प्रहरी प्रशासन प्रयोग गरेर आफुलाई हराएको जिकिर गर्नुभएको छ ।

‘मत गणनाको क्रममा दोश्रो दिन सम्म २८०० सय मतले लिड रहेको सूर्यमा ३८,६५१ र विपक्षी कांग्रेसको ३८,९७२ ले उही झिनो मत ३२१ परिणामको कारणले पराजय भोग्नु पर्यो ।’ उहाँले भन्नुभएएको छ, ‘निर्वाचन अधिकृतलाई सेटिङ मिलाई एमालेका प्रदेश सदस्यलाई उच्च मत आएका विद्यालय इटहरी १० ज्ञानोदय मावि र दुहबी ३ मजदुर प्रावि साविक एमालेको गढ मानिएको ठाउँका बाकसहरुको फेरबदल गरिएको, गच्छदारका मान्छे एसपी विद्यानन्द माझी, सुनसरी प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र काठमाडौंबाट अनुसन्धान कार्यालयका वकिल टिकाभुषण घिमिरे जो निर्वाचन अधिकृतबाट गन्ती ढिलाई गराई मतपेटिका बदली गरेको कुरा केही अनुसन्धान मै रहेका प्रहरीले जानकारी गराएका छन् ।’ चोधरीले पत्रमा उल्लेख गर्नुभएको छ । यसैगरी १० वटा अर्धकट्टी सहितको मतपत्र एकै साथ रहेकै अवस्थामा गन्ती गर्दा बाकसबाटै रुख छाप निस्कँदा उक्त मतपत्रसमेत सदर गरी जवरजस्ती गरेको समेत उल्लेख गर्नुभएको छ ।

उहाँले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो ३८,६५१ र गच्छदारको ३८,९७२ संघीय समाजवादी फोरमको १,८५४ स्वतन्त्र १,०६३ मात्र आएको र आफुलाई विभिन्न सड्यन्त्र गरेरै हराइए पनि पार्टी र वर्तमान सरकारले उचित न्याय दिन नसकेको बताउनुभएको छ ।

चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकासमा खासै काम नभएको र निर्वाचनताका जनाइएका प्रतिबद्धताहरु पुरा नहुँदा जनतामा निराशा छाएको दाबी गर्नुभएको छ । उहाँले अहिले आफुहरु सरकारमा भएपनि सुनसरी क्षेत्र नं. ३ का जनताले त्यसको अनुभूत गर्न नपाएको उल्लेख गर्दै ‘यो स्थानमा बसेका गरिब, दलित, पिछडा वर्ग परिवर्तन र समृद्धीको पर्खाइमा छन । मलाई जनता समक्ष गएर ठोस बचन दिनपनि लज्जा बोध हुन्छ । तसर्थ, यो क्षेत्रलाई विशेष रुपमा हेरिदिनु भई हाम्रो क्षेत्र सदैव नेकपाको पक्षमा बनोस् भन्ने उद्देश्यले यो लिखित निवेदन गर्न आएकी छु ।’ चिठीमा लेख्नुभएको छ ।

चौधरीले आफुसँग सुनसरी क्षेत्र नं. ३ को विकासको संभावना, योजना र दृष्टीकोण रहेपनि पद र पहूँच नहुँदा कार्यान्वयन गर्न नसकिरहेको समेत बताउनुभएको छ । उहाँले सुनसरी क्षेत्र नं. ३ लाई विशेष प्राथमिकतामा राख्न आग्रह पनि गर्नुभएको छ ।

चौधरीले अन्तिम ६ नं. बुँदामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै आफुले राजनीति गर्दा कुनै लाभको पद नलिएको र निःस्वार्थ भावनाले देश र जनताको लागि काम गर्न चाहेको उल्लेख गर्नुभएको छ । उहाँले आफु स्वदेशमै रहेर जनताको सेवा गर्ने, सुनसरी मोरङका जनतामाझ काम गर्ने इच्छा व्यक्त गर्नुर्भएको छ । चौधरीले अहिलेपनि आफु निरन्तर जनताकै सेवामा लागि रहेको उल्लेख गर्दै जनताका अपेक्षा पार्टी सरकारमा रहेकाले अपेक्षा धेरै भएको उल्लेख गर्नुभएको छ ।
चौधरीले पार्टी समायोजन पश्चात भूगोलमा प्रत्यक्ष जनतासँग सरोकार नराख्ने व्यक्तिहरु जिल्ला इन्चार्ज सह–इन्चार्ज आएकोले कार्यकर्तामा निराशा छाएको बताउनुभएको छ । यस्तै पार्टी भित्र बिभागमा केही होला भन्ने आशा थियो त्यो पनि केही नभएको भन्दै प्रधानमन्त्रीलाई ‘मेरो अस्तित्व कहाँ छ ? यदि छ भने कहिले र कसरी पाउने हो ? भन्दै प्रश्न गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?