यौनजन्य दुर्व्यवहारको आरोप लागेका वडाध्यक्षलाई किन रिहा गरियो ?

तनहुँ । यौनजन्य दुव्र्यवहार गरेको आरोप लागेका तनहुँको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीलाई धरौटीमा छाडिएका छन् । वडाध्यक्ष भण्डारीले ३५ हजार रुपैयाँ धरौटी बुझाएपछि उनलाई तारेखमा छोडिएको हो । प्रारम्भिक अनुसन्धान सम्पन्न गरी धरौटीमा रिहाइ गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकाले फैसला हुन ७ महीनासम्म लाग्न सक्ने उहाँको भनाई छ ।

वडाध्यक्ष भण्डारीविरुद्ध सोही वडाकी एक २१ वर्षीया युवतीले गत सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दर्ता गराएकी थिइन् । वडाध्यक्ष भण्डारीले फोनमार्फत पटक–पटक यौनजन्य दुव्र्यवहार गर्दै आएको उनको जाहेरीमा उल्लेख छ ।

वडाध्यक्ष भण्डारीले नै आफूलाई स्वास्थ्य क्षेत्रमा जागिर मिलाइदिएको तर, अहिले म तिमीलाई माया गर्छु, तिमी र म पोखरा घुम्न जाऊ, जस्ता कुरा गर्न थालेको उनको दाबी छ ।

किटानी जाहेरी परेपछि वडाध्यक्ष भण्डारी स्वयं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?