गाई हत्या प्रकरणः सरकारको छानबिन टोली सुर्खेतमा, यसरी गर्दैछ अनुसन्धान

सुर्खेत । दैलेख पुर्‍याउने भनी नेपालगञ्जबाट पठाइएका गाईगोरु बिच बाटोमै खसालिएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली सुर्खेत आइपुगेको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठक संयोजकत्व गठित छानबिन समितिले आज गाई खसालिएको स्थानको अवलोकन गर्नुका साथै सरोकारवालासँग घटनाबारे सोधपुछ गरेको छ ।

छानबिन समितिका संयोजक पाठकले घटनाको अनुसन्धान शुरु गरिसकेको जानकारी दिनुभयो । ‘‘बाँकेबाट अनुसन्धान शुरु गरिसकेका छाैं,” उहाँले भन्नुभयो, “घटनास्थलको स्थलगत अध्ययन र गाईगोरु लैजाने भनिएको ठाउँ दैलेखको शिरस्थानसम्म पुग्नेछौँ ।” समितिले घटनाको वस्तुगत तथ्य पत्ता लगाउने र भविष्यमा यस्ता समस्या आउन नदिन सुझावसहितको प्रतिवेदन तयार गरिने संयोजक पाठकको भनाइ छ ।

समितिले मङ्गलबार नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जीहाउसको अनुगमन गर्नुका साथै उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग पनि सोधपुछ गरेको छ । गृहमन्त्रालयले उपसचिव पाठकको संयोजकत्वमा सुरक्षा निकायको समेत प्रतिनिधित्व रहने गरी शनिबार चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश छ ।

यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले पनि सुर्खेत आएर घटनाबारे अनुसन्धान गरिरहेको छ । नेपालगञ्जका कानून व्यवसायी विकास आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिले आज बिहान वीरेन्द्रनगरमा नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीसँग घटनाबारे सोधपुछ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२१ फुलटेक्रा र बेतनीबीचमा रहेको कान्जीहाउसबाट दैलेखको शिरस्थानसम्म पुर्‍याउने भनी ल्याइएका ३६ गाईगोरु शुक्रबार बिहान सुर्खेतको वीरेन्द्रनगर नजिकको जङ्गलमा भीरबाट खसालेर मारिएको अवस्थामा भेटिनुका साथै बाँकी घाइते र बेवारिसे अवस्थामा छाडिएका थिए । सोही दिन प्रहरीले गाई–गोरुलाई भिरबाट खसालेर मारेको अभियोगमा ढुवानीमा आएका ट्रकका चालकलाई नियन्त्रणमा लिएको थियो ।

सुर्खेतको कटकुवा र धुलियाबिट जङ्गलको भिरबाट खसालेर गाईगोरु मारेको अभियोगमा शुक्रबार पक्राउ परेका ट्रकका चालक-सहचालक गरी सात जनालाई प्रहरीले गोबध मुद्दामा अनुसन्धान गरिरहेको छ । नेपालगञ्ज उपमहानगरअन्तर्गतका नगर प्रहरी निरीक्षक सूर्य बोगटीलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ । बोगटी गाईगोरु ढुवानी गरिरहेका ट्रकसँगै सुर्खेत आएको बताइएको छ । सोही आधारमा उनलाई पनि गोबध मुद्दाको दोषीका रुपमा प्रहरी अनुसन्धान अघि बढाएको हो ।

मुलुकी अपराधसंहिताअन्तर्गत पशुपक्षीसम्बन्धी कसुर गर्नेलाई कानूनी कारवाही गर्ने प्रावधान छ । अपराधसंहिताको उक्त कसुरअन्तर्गत दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्न नहुने उल्लेख छ । उपदफा २ मा गाई र गोरु मारेमा तीन वर्ष कैदको हुने व्यवस्था छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?