आईओएमको ताला प्रहरीले खुलायो, अब कहिले हुन्छ एमबीबीएसको प्रवेश परीक्षा ?

काठमाडौं । चिकित्सा शिक्षा संस्थान (आईओएम)को कार्यालयमा विद्यार्थीहरुले लगाएको ताला प्रहरीले खुलाएको छ । ताला खोलिएसँगै आगामी २१ गतेका लागि तोकिएको एमबीबीएसको प्रवेश परीक्षा तोकिएकै मितिमा हुने शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रवेश परीक्षा पूर्वनिर्धारित मितिमै गर्नका लागि ताला खुलाइएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि शिक्षासम्बन्धी विभिन्न माग राखी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको स्ववियु र बिभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका थिए । विद्यार्थीहरुले चिकित्सा शिक्षा ऐनले प्रावधान गरेको ७५ प्रतिशत छात्रवृत्ति यसै शैक्षिक सत्रबाट लागू गराउनुपर्नेलगायतका माग राख्दै आएका छन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ कार्यान्वयनको चरणमा रहेको भन्दै शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेको भोलिपल्टै प्रहरीले ताला खुलाएको हो ।

चिकित्सा शिक्षा ऐनले ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सुनिश्चित गरेपनि नियमावली नबनेको, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त नभएकोलगायतका कारण तत्काल विद्यार्थीहरुको कतिपय माग कार्यान्वयन गर्न नसकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?