प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदबीच दोहोरी

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदकाबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर चर्काचर्की भएको छ ।

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले उनलाई आराम दिन सुझाव दिनुभयो । उहाँले लामो समय कार्यकारी प्रधानमन्त्री देश बाहिर बस्दा सुरक्षा र कुटनीतिक रुपमा समेत प्रश्न उठ्ने भन्दै प्रतिनिधिसभाको बैठकमा प्रश्न गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पनि के कम, कांग्रेस सासंद थापाले बोलेलगत्तै बोल्न आउनुभएका नेकपा सांसद सूर्यप्रसाद पाठकले थापालाई जवाफ फर्काउनुभयो । उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व खोजेको आरोप लागाउनुभयो । थापाप्रति लक्षित गर्दै पाठकले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेजस्तै गरी प्रधानमन्त्रीले राजीनामा दिए हुन्थ्यो भन्ने आशय प्रकट नर्गन आग्रह गर्नुभयो । उहाँले धेरै मानिसलाई वर्तमान सरकार ५ वर्ष चलेमा मुलुकले फड्को मार्ने र आफ्नो दलको अस्तित्व धरापमा पर्ने चिन्ता देखिएको पनि टिप्पणी गर्नुभयो ।

सांसदबीचको दोहोरीलाई आफैं विश्लेषण गर्नुहोस्ः

गगन थापाः

संसदमा नेकपाको बहुमत रहेको र सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्ने स्मरण गराउँदै थापाले प्रश्न गर्नुभयो । ‘नेकपामा प्रधानमन्त्री भएका व्यक्ति पार्टीमा हुनुहुन्छ । प्रधानमन्त्रीको इच्छा राख्ने व्यक्तिहरू हुनुहुन्छ । यस्तो बेलामा हामी विश्राम दिन किन चाहिरहेका छैनौं ?’
’नेकपाका युवा साथीहरूले प्रधानमन्त्रीलाई ‘बा’भनेको सुनेको छु । प्रधानमन्त्री हाम्रो पनि ’बा’सरह हुनुहुन्छ । हाम्रो ’बा’ बिरामी हुनुभएको भए धपेडी नगर्नुस् । आराम गर्नुस्, विश्राम लिनुस् भन्थ्यौं,’ उहाँले भन्नुभयो, ’हामी प्रधानमन्त्री ’बा’लाई यसो भन्न किन सक्दैनौं ।’

’नेपालको आन्दोलन र शान्ति प्रक्रियामा ठूलो योगदान पुर्याउनभएकाे, ठूलो राष्ट्रिय जिम्मेवारी पूरा गर्नुभएको र स्वाभिमानको लडाइँमा अथक योद्धा प्रधानमन्त्री लामो समयसम्म हाम्रो बीचमा अभिभावकको रूपमा देख्न चाहन्छौं । तर शरीर सबैको शरीर नै हो । मन सबैको मन नै हो । प्रधानमन्त्रीको ईच्छाको म सम्मान गर्छु,’ सांसद थापाले भन्नुभयो ।

जवाफ नेकपा सांसद सूर्यप्रसाद पाठक:

‘धेरै मानिस र शक्तिलाई के लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार ५ वर्ष चल्यो भने मुलुकले फड्को मार्नेछ, त्यतिबेला अफ्ना दलहरुको अस्तित्व धरापमा पर्ने त होइन भन्ने चिन्ता छ,’ उहाँले भन्नुभयो, ‘मेरो आग्रह के छ भने प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोजौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?