चौतारा । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहानक्षेत्र निषेधाज्ञा जारी गरिएको छ । मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पु¥याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) अनुसार निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले बताउनुभयो । इटालियन ठेकेदार सिएमसीले ठेक्का तोडेर गएपछि सिएमसीको धरौटी रकम कट्टा ज्याला र सामानको भुक्तानी पाउनुपर्ने माग गर्दै स्थानीय ठेकेदार तथा मजदुर बुधबारदेखि धर्नामा बसेका थिए ।
सोही क्रममा आन्दोलनकारी र प्रहरीबीच बिहीबार झडप हुँदा प्रहरीले अश्रुग्याँस तथा रवरको गोली प्रहार गर्दा केही मजदुर घाइतेसमेत भएका थिए । सिएमसीले छाडेपछि सरकारले बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया