सरकारप्रतिको जनआक्रोश रवि लामिछाने प्रकणमा छताछुल्ल भयोः पशुपति शमशेर राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणाले ओली सरकारको कुशासनबाट आक्रोशित जनताले विकल्प खोजेको बताउनुभएको छ । सिन्धुली जिल्लास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले सरकारका कारण जनतामा निराशा र आक्रोश बढेर गएकाले जनता अब पर्खेर नबस्ने जिकिर गर्नुभयो ।

‘इतिहासकै बलियो दुई तिहाइको नेकपा सरकारलाई जनताले मौका दिएकै हो तर सरकारले सिन्को पनि भाँच्न सकेन । विगत १६ महिनामा ओली सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवाद उन्मुख शासन शैली बाहेक केही दिन सकेन,’ अध्यक्ष राणाले भन्नुभयो ।

गुठी विधेयक र रवि लामिछाने प्रकरणमा जनताको आक्रोश छताछुल्ल भएको भन्दै जनताले खोजेको विकल्प राप्रपा (संयुक्त) ले दिने अध्यक्ष राणाले दावी गर्नुयो ।

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको र राष्ट्रपतिको भूमिका निष्पक्ष नभएको जिकिर गर्दै उहाँले निष्पक्ष संस्थाको रुपमा राजसंस्थाको आवश्यकता टड्कारो रहेको बताउनुभयो । जनताको चाहना बमोजिम राजसंस्था र सनातन हिन्दु राष्ट्रको लागि आन्दोलन गर्ने पार्टीको योजना रहेको राणाले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?