काठमाडौं । दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिनुभयो । खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिन दिक्तेल आउनुभएको हो ।
मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आउनुभएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिनुभएको थियो । निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहीन जन्मनुभएकी सम्झनाले सानै उमेरदेखि नै कष्टपूर्ण ढङ्गले अध्ययन गर्दै आउनुभएको थियो । अहिले आमासँगै मावलीघर सोही गाउँपालिका–६ मा पर्ने इन्द्रेणीपोरी बस्दै आउनुभएकी सम्झना आफैँ कपडा लगाउन, फेर्न तथा खाना खान सक्नुहुन्न । कुमदेखि नै हातको नक्सासमेत नभएकी सम्झना खुट्टाकै भरमा सबै काम गर्नुहुन्छ ।
भगवती दीनानाथ माविका नियमित तथा जेहेन्दार विद्यार्थीका रूपमा रहनुभएकी सम्झना खुट्टाले नै लेखेर कक्षा–१ देखि ११ कक्षासम्म उत्तीर्ण हुनुभएको हो । दुवै हात नभए पनि आफू पढाइ–लेखाइमा साथीहरुभन्दा कम नभएको उहाँको भनाइ छ ।
घरबाट एक घण्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय आवतजावत गर्नुपर्दा शुरु–शुरुमा विद्यालय छाडौँ जस्तो पनि लागेको उहाँले सुनाउनुभयो । “विद्यालय टाढा भएकाले शुरु–शुरुमा पढाइ छाडौँ कि भन्ने लागेको थियो तर मनले मान्दै मानेन । जसरी भए पनि पढ्नैपर्छ भन्ने लागेर दुःखकष्ट गरिरहेकी छु”, उहाँले भन्नुभयो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा आएर मौका परीक्षा दिइसकेपछि रासससँग कुरा गर्दै उहाँले भन्नभयो, “दाइ पनि मसँगै पढ्दै हुनुहुन्थ्यो तर अहिले छोड्नुभो, बुनुहरु पढ्दैछन् । शारीरिकरूपमा अशक्त भएकाले पनि मैले त झनै पढ्नैपर्छ भन्ने लागेर पढाइलाई निरन्तरता दिइरहेकी छु ।”
घरायसी काममै अल्झिनुभएका सम्झनाका बुबाआमाको इच्छा पनि छोरीलाई धेरै पढाउनु नै रहेको उहाँले सुनाउनुभयो । “आजसम्म त सबैको साथ सहयोगबाट पढियो तर, अब…!”, गला अवरुद्ध पार्दै बोली नसक्दै अड्किनुभयो ।
सम्झनाको अबको अध्ययन यात्रा निश्चित छैन तर सम्झनासँग लगनशीलता, धैर्य र आत्मबल देखिएको छ । “शारीरिक हिसाबले म जस्ता र मभन्दा कमजोर अवस्थाकाले पनि धेरै राम्रो र ठूलो काम गरेर नाम कमाएका छन्”, उहाँ भन्नुहुन्छ, “मैले झमककुमारी घिमिरेलगायतका धेरै व्यक्ति शारीरिकरूपमा फरक भए पनि इतिहास लेख्न सफल बनेको देखेकी छु । उहाँहरुले गरेको काममा म पनि केही न केही गरेर आफ्नो नाम लेखाउन सक्छु भन्ने लागेको छ ।”
झमककुमारी घिमिरेलाई प्रत्यक्ष भेटेको उहाँले सुनाउनुभयो । “धरानमा मैले उहाँलाई प्रत्येक्ष भेटेँ । उहाँले भेट्न बोलाउनुभएको रहेछ”, उहाँले भन्नुभयो, “झमककुमारीबाट आफूले धेरै हौसला पाएकी छु । उहाँ त हिँड्न पनि सक्नुहुन्न रहेछ । उहाँले लेख्नुभएको ‘जीवन काँडा कि फूल’ पढेँ, साह्रै राम्रो लाग्यो, रोएँ पनि अनि धेरै कुरा बुझेँ पनि ।”
झमकुमारीले लेख्नुभएको उक्त पुस्तकले आफूलाई जीवन र सङ्घर्ष भन्ने बुझ्न मद्दत गरेको सम्झनाको भनाइ छ । सबैको माया र साथ पाए आफू पनि देश र समाजका लागि केही न केही गर्ने अठोट आफूभित्र रहेको उहाँको भनाइ छ ।
सम्झनाको अध्ययन निरन्तर अघि बढोस् भनेर यसअघि विभिन्न सङ्घसंस्थाले सहयोग पनि गरेका छन् । करीब चार वर्षअघि खोटाङमा जन्मेर बेलायत (युके)लाई कर्मथलो बनाएका समाजसेवीको सामाजिक संस्था खोटाङ सेवा समाज युकेले रु चार लाख ६९ हजार ७६० सहयोग रकम प्रदान गरेको थियो ।
समाजले सम्झनाको उमेर १८ वर्षको हुँदासम्म ब्याज मात्र झिक्न मिल्ने र त्यसपछि साँवा रकम निकाल्न पाउने गरी चेक प्रदान गरेको थियो । युकेमा बसोवास गरिरहेका खोटाङेबाट सङ्कलित रकम सम्झना र आमा सुमिता राईको नाममा जम्मा गरिएको थियो ।
पढाइसँगै गीत÷सङ्गीत र साहित्यमा समेत रुचि राख्नुहुने सम्झनाका लागि यसअघि एरिया वेलफेयर सेन्टर दिक्तेलले पनि भौतिक सहयोग गरेको छ । नेपाल सरकारबाट भने मासिक रु ६०० भत्ता पाउने गरेको सम्झनाले जनाउनुभयो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया