विदेश छाडेर गाउँमै प्राङ्गारिक तरकारी खेती

बेनी । पछिल्लो समय तरकारीबारीदेखि भान्सा र मुखसम्मनै विषादीयुक्त तरकारी र फलफूल पुग्ने गरेको सन्दर्भमा म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रबाङका चार युवाले सामूहिक प्राङ्गारिक तरकारी खेती शुरु गर्नुभएको छ । लामो समय वैदेशिक रोजगारीमा समय व्यतीत गर्नुभएका तेजेन्द्र आचार्य, ओमबहादुर दर्जी, दलबहादुर नेपाली र भविलाल सुवेदीले सात रोपनी जग्गा भाडामा लिएर तरकारीखेती शुरु गर्नुभएको हो ।

कतार र मलेसियामा रोजगारीको क्रममा वर्षौ समय बिताउँदासमेत उल्लेख्य प्रगति नभएपछि गाउँ फर्किएर व्यावसायिक कृषि पेशालाई अङ्गालेका युवा कृषक आचार्यले बताउनुभयो । ‘‘६ वर्ष वैदेशिक रोजगारीबाट गुजाराबाहेक केही भएन, अब गाउँकै माटोमा पसिना बगाउने निधो गरेर कृषि उद्यम शुरु गरेका छाँै’’, आचार्यले भन्नुभयो ।

व्यावसायिक प्राङ्गारिक तरकारीखेती शुरु गरेका चारै जना वैदेशिक रोजगारीबाट फर्किनुभएका हुन् । मङ्गला प्राङ्गारिक तरकारीखेती तथा प्राङ्गारिक मल उत्पादन फार्म सञ्चालन गरेर प्राङ्गारिक तरकारी उत्पादन गर्दै आउनुभएको छ । अहिले पाँच वटा टनेलमा टमाटरसँगै करेला, घिरौँला, भण्टा, खुर्सानी, बोडी, बन्दा, काउलीलगायतका तरकारी उत्पादन गर्दै आएको कृषक नेपालीले बताउनुभयो । ‘‘आलु, मटरकोसालगायतका तरकारीसमेत रोपेका छाँै, उत्पादन भएको तरकारीका लागि बजारको अभाव छैन, शुरुआतमा गरेको लगानी उठिसकेको छ’’, नेपालीले भन्नुभयो ।

उत्पादित तरकारी नजिकै रहेको बाबियाचौर, दरबाङलगायतका बजारमा खपत हुनुका साथै स्थानीयस्तरमा समेत खरिदबिक्री हुँदै आएको छ । परिश्रम गरेपछि स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने निचोडमा उहाँहरु पुग्नुभएको छ । उहाँहरुले सामूहिक तरकारी खेतीसँगै घरमा समेत तरकारी खेती र पशुपालनलाई सँगसँगै अघि बढाउनुभएको छ ।

मङ्गला–२ लरेनी घर भएका कृषक ओमबहादुर दर्जीले कतार र दुबईमा ७ वर्ष समय बिताउँदा पनि सुख प्राप्तिको कुनै सम्भावना नदेखेपछि घर फर्किएर कृषि फममा आवद्ध भएको बताउनुभयो । ‘‘विदेशमा ठूलो परिश्रम गरियो, आफू जाँदाको ऋण तिर्नबाहेक अरू केही उपलब्धि भएन, यहाँ कसैको अधिनमा बसेर काम गर्नुपर्दैन, हामी काम बाँडफाँट गरेर नियमित रुपमा फाम र मल उद्योगमा काम गर्छाैं, परिवारसँगै बसेर स्वदेशमै पसिना बगाउँदा मलाई ठूलो सन्तुष्टी मिलेको छ’’, उहाँले भन्नुभयो ।

वरिपरिका हरियाली धान खेतको बीचमा गरिएको तरकारी खेती नमूना फार्मको रुपमा विकास भइरहेको छ । चारै जनाले दैनिक रुपमा तरकारीखेतीमा गरेको काम झनै लोभलाग्दो छ । करेसाबारीमा गोडमेल, सङ्कलन गर्ने र बजारीकरण गर्ने उहाँहरुको अहिलेको दैनिकी हो । शुरुआतमा रु चार लाख लगानी गरिएकोमा तरकारी खेती थप विस्तार गरी व्यावसायिक स्वरुपलाई बढाउने तयारी सो समूहको छ ।

उपभोक्ताले विषादीको प्रयोग र प्राङ्गारिका उत्पादनका सामानमा एउटै नजरले हेर्ने गरेको कारण उपभोक्तालाई बुझाउन कठिनाइ आइपरेको छ । कुनै पनि विषादी र रासायनिक मलको प्रयोग नगरिकनै प्राङ्गारिक तरकारी उत्पादन गरिए पनि उपभोक्ताले भने विषादियुक्त तरकारी र प्राङ्गारिक तरकारीलाई एउटै नजरबाट हेर्ने प्रवृत्ति रहेको उहाँहरुको गुनासो छ । ‘‘ प्राङ्गारिक उत्पादन आफैमा जोखिम र गाह्रो काम हो तर बजारमा बुझाउन अलि गाह्रो भएको छ, फार्ममै आएर तरकारी लैजानेहरु विश्वस्त हुनुहुन्छ, अर्गा्निक उत्पादनको महत्व बढ्नेमा विश्वस्त छौँ’’, सञ्चालक नेपालीले भन्नुभयो ।

उहाँका अनुसार तरकारीमा रोग कीराको सङ्क्रमण भएको समयमा गाई भैँसीको गहुँत र जैविक विषादी बनाएर प्रयोग गरिएको छ । टमाटर प्रतिकिलो रु ७०, करेला रु ८०, खुर्सानी रु १३५ मा बिक्री हुन्छ सो फार्ममा । व्यावसायिक तरकारीखेतीमा गाउँपालिका र कृषि ज्ञान केन्द्र कार्यालयबाट टनेललगायतका सामग्रीमा सहयोग प्राप्त भएपछि उहाँहरुमा थप हौसला थपिएको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रममा नै प्राङ्गारिक व्यावसायिक खेतीलाई जोड दिएको अवस्थामा युवाहरुले कोत्रबाङमा शुरु गरेको प्राङ्गारिक तरकारीखेती नमूनाका रुपमा अघि बढेको पाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । ‘‘शुरुमा उहाँहरुलाई प्राङ्गारिक मल उत्पादनसम्बन्धी तालीम दिएका थियौँ, उहाँहरुले मल उद्योगसँगै अर्गा्निक तरकारीखेती पनि थाल्नुभयो, पछि हामीले टनेल, पावर टेलर खरिदमा पनि अनुदानको व्यवस्था ग¥यौँ, स्वदेशमै केही गर्नुपर्ने भन्ने उहाँहरुको मान्यतामा हाम्रो सकारात्मक साथ रहेको छ’’, अध्यक्ष रोकाले भन्नुभयो ।

गाउँपालिकाको सहयोगमा उहाँहरुले नै सञ्चालन गरेको प्राङ्गारिक मल उद्योगमा उत्पादन भएको मलको तरकारी फार्म सञ्चालनमा आएसँगै सदुपयोग हुन थालेको छ । मल उद्योगबाट समेत आम्दानी भएको छ । उद्योगबाट उत्पादन हुने प्राङ्गारिक मल प्रतिकिलो रु २५ मा बिक्री हुन्छ । बजारमा निस्कने कुहिने फोहोर सङ्कलन गरी खेर गएको वनस्पति बनमारा, माटो, काठको धुलो, धानको भुसलगायतलाई मिसावट गरी तयार गरिने प्राङ्गारिक मल अहिलेसम्म १५० क्विन्टल बढी बिक्री भइसकेको छ । गाउँपालिकाले ८० क्विन्टल मल खरिद गरी कृषकलाई वितरण गरेको थियो भने लुम्लेस्थित नर्सरीमा समेत यहाँबाट मल लगिएको छ ।

कृषि मङ्गलाको प्राथमिकतामा

मङ्गला गाउँपालिकाले समृद्धिको प्रमुख आधार मानिएको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कृषि र पर्यटन क्षेत्रमा गाउँपालिकामा रहेको सम्भावना उजागरका लागि प्राथमिकता दिइएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । उहाँले युवालाई जोडेर शुरु गरिएको प्राङ्गारिक मल उद्योग र अर्गा्निक तरकारीखेती नमूनाको रुपमा अघि बढेको बताउँदै कृषिलाई थप जोड दिइएको जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५/७६ मा कृषि र पशुपालन क्षेत्रमा रु ४८ लाख बजेट परिचालन गरेको मङ्गलाले चालू आर्थिक वर्षका लागि यस वर्ष रु ६२ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रत्येक वडाबाट पालिकाले दिएको सीमामा करीब रु पाँच लाखका दरले कृषि क्षेत्रका लागि थप बजेट विनियोजन भएको छ । यस वर्ष कृषकलाई टनेल, थोपा सिँचाइ, उन्नत जातका विरुवा र बीउ, उपकरणलगायतका वस्तु तथा सामग्री सहयोग गरिने गाउँपालिकाले जनाएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?