काठमाडौं । किर्गीस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । आज (सोमबार) भएको खेलमा नेपाल बलियो टिम उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो । नेपालले खेलको ३४ औं मिनेटमा पहिलो तथा ५१ औं मिनेटमा दोस्रो गोल खाएको थियो ।
जितसँगै उज्वेकिस्तानले दुई खेलबाट ६ अंक जोडेको छ । नेपालको दुई खेलबाट ३ अंक रहेको छ ।
यसअघि पहिलो खेलमा नेपालले घरेलु टिम किर्गीस्तानलाई ८–२ गोल अन्तरले हराएको थियो । उज्वेकिस्तानले भने ताजकिस्तानलाई १२ –० ले हराएको थियो ।
अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मंगलबार ताजकिस्तानको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपालले प्रतियोगिता खेलेको हो । १३ औं साग मंसिर १५ बाट २४ सम्म आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया