नेकपा प्रदेश २ को शपथ ग्रहण कार्यक्रममै कुटाकुट, झण्डै आधा दर्जन नेता कार्यकर्ता घाइते

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा झडप भएको छ । बर्दिवासस्थित सेवा समितिको हलमा सप्तरी र सिरहाका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा कुटाकुट भएको प्रहरीले जनाएको छ । झडपका क्रममा एकअर्काको कुटाईबाट झण्डै आधा दर्जन नेता कार्यकर्ता घाइते भएका जनाइएको छ ।

शपथ ग्रहण कार्यक्रम सुरु हुनुभन्दा अगाडी नै नेता कार्यकर्ताहरुले नाराबाजी सुरु गर्दै हलभित्रका कुर्सीहरु तोड्फोड गरेका थिए ।

पार्टीका अध्यक्ष तथा महासचिवले शपथ ग्रहण स्थगित गर्न निर्देशन दिएपनि अध्यक्ष प्रभु साहसहितकाले बलजफ्ती गर्न खोजेपछि झडप भएको थियो । असन्तुष्ट कार्यकर्ताहरुले अध्यक्ष प्रभु साहलाई हलबाट बाहिर निकालिदिएका थिए ।

सन्तुष्ट समूहले नाराबाजी गर्दै कुर्सी तोड्न थालेपछि दुईतर्फी झड्प भएको छ ।

झड्पलाई नियन्त्रण गर्न आएको प्रहरीले लाठी प्रहार गर्दा नेकपाका सप्तरी नेता देबनाथ यादवको टाउको फुटेको छ ।

जिल्ला कमिटिमा कहिले सदस्य नै नभएका व्यक्तिलाई जिल्ला सदस्य बनाएको भन्दै सप्तरी, सिरहासहित प्रदेश २ को आठै जिल्लामा विवाद उत्पन्न भएको थियो । उक्त विवाद समाधान नगरी शपथ ग्रहण गराउन लागेको भन्दै नेता कार्यकर्ताहरु यसअघि नै असन्तुष्ट बनेका थिए ।

महोत्तरीको बर्दिवासमा आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम निर्धारण गरिएकोमा मंगलबार सप्तरी र सिरहाका पदाधिकारीहरुको मात्रै शपथ ग्रहण कार्यक्रम राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?