पशुपतिमा आरतीअघि राष्ट्रिय गान बजाउन रोक्ने संस्थालाई कारबाही गरिने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिमा साँझको आरती सुरू गर्नुअघि राष्ट्रिय गान बजाउन छाडेकोमा बागमती गंगा आरती परिवारलाई कारबाही गर्ने भएको छ ।

भदौ १३ गतेबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले निर्देशन दिएपछि आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन थालिएको थियो । तर त्यहि विषयलाई लिएर पछिल्लो समय निकै चर्चा र आलोचना भएको छ ।

आर्यघाटमा शोकमा रहेका बेला राष्ट्रिय गानको मर्यादा कायम नहुने र दाहसंस्कार दिन लागेका   पुत्रपुत्री पनि उभिने कि के गर्ने ? भन्दै धेरैले विरोध समेत गरेका थिए ।

२०६४ सालदेखि हरेक साँझ पशुपतिमा आरती हुदै आइरहेको छ । ब्यापक आलोचना भएपछि आरती सुरू हुनुअघि राष्ट्रिय गान बजाउन सोमबारबाट गंगा आरती परिवारले बन्द गरेकोे छ । कोषले आफूसँग कुनै सल्लाह नगरी पहिले दिएको निर्देशन विपरीत आरती रोकेको भन्दै कारबाही अघि बढाउन लागेको हो ।

आरती पहिले राष्ट्रिय गान बजाउने निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विरोध जनाएको छ । कांग्रेस सांसद भीमसेनदान प्रधानले संसदमा बोल्दै आरतीमा राष्ट्रिय गान बजाउने निर्णय धर्म, संस्कृति तथा परम्परा विरोधी भएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?