काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको संसदीय समितिको निष्कर्ष

काठमाडौं । संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो ।

समितिकी सभापति कल्याणी खड्काले स्थानीयको मागलाई सम्बोधन गरी काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न सरकारलाई आवश्यक निर्देशन दिने पनि बताउनु भयो । त्यसका लागि सिस्डोल र बञ्चरेडाँडाका सरोकारवाला सबै निकायसँग विस्तृतमा छलफल गर्ने समितिको योजना छ ।

समितिले सो ठाउँका जनताको जग्गाको उचित मुआब्जा नदिने, फोहोरको पहिरोबाट बाटो अवरोध हुँदा स्थानीय मारमा पर्नुपर्ने, फोहोरका कारण स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेगरी सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ ।

नुवाकोटकी सांसद विन्दा पाण्डेले सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायसँग आवश्यक छलफल गरी सो समस्याको दीर्घकालीन समाधानमा लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले स्थानीयबासीको माग सम्बोधन गरी काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न आफूले समेत सरकारको पटकपटक ध्यानाकर्षण गराएको पनि स्मरण गराउनु भयो ।

काठमाडौंको फोहोर व्यवस्थापन भईरहेको सिस्डोलमा फोहोरको पहिरोबाट त्यहाँको सडक समेत अवरुद्ध भएपछि स्थानीयबासी झनै मारमा परेका छन । विकास समितिले स्थलगत अवलोकन गरी स्थानीयबासीको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई सचेत गराउन सो क्षेत्रको स्थलगत अवलोकनको कामलाई पुनः सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?