काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । मंगलबार भएको खेलमा युएईलाई १६० रनले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो । एफटिजेट स्पोर्ट्स कम्प्लेक्समा नेपालले दिएको १८६ रनको फराकिलो लक्ष्य पछ्याएको युएई ३४ ओभर ४ बलमा अलआउट हुँदै १२५ रनमा समेटियो ।
नेपाली बलर चम्किएको खेलमा युएईका लागि भ्रितय अर्भिन्दले सर्वाधिक २८ रन जोड्नुभयो । यस्तै अलिसान सराफुले २१ तथा ओसामा हसनले १६ रन बनाउनुभयो ।
युएईलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ३ विकेट लिनुभयो । यस्तै राशिद खान, सुर्य तामाङ र पवन सरार्फले २-२ विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २८५ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
यस्तै सन्दीप जोराले ४८ रन बनाउदा आसिफ शेखले ४५ रन बनाउनुभयो । त्यस्तै राशिद खानले ४४ र कमल सिंह ऐरीले ४१ रन तथा कुशल मल्लले २२ रन जोड्नुभयो ।
युएईका आकाश ताहिर र सन्चित शर्माले ३–३ विकेट लिनुभयो ।
जितसँगै समूह ’बी’ मा रहेको नेपालले ३ खेलमा २ अंक जोड्यो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । तीनै खेल गुमाएको युएई भने तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।
यस समूहबाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया