म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ ।
निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिनुभयो ।
उहाँले निष्पक्ष छानविनको मागसमेत गर्नुभएको छ । आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।
पटक–पटक अज्ञात समूहले धम्की दिने गरेको भए पनि आगलागी कसले गरेको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ । घटना गएराति १२ बजेतिर भएको हुनसक्ने अनुमान गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया