प्रदेश नं. ३ समानुपातिकः कांग्रेसले चिनेन तामाङ समुदायलाई

काठमाडौं, २१ पुस– नेपाली कांग्रेसले प्रदेश नम्बर ३ बाट तामाङ समूदायका एकजनालाई पनि समानुपातिक सांसद नबनाएको भन्दै असन्तुष्टि देखिएको छ । पार्टी निकट तामाङ अगुवाहरुले पार्टीले प्रदेश नम्बर ३ बाट १४ सिट जितेको भएपनि एक जनालाई पनि नसमेटेको भन्दै असन्तुष्टि जनाएका हुन् । महिला कोटाबाट काठमाडौँ की राधा घलेलाई मनोनयन गरिएपनि, अन्य तामाङ समुदायको तर्फबाट प्रदेश संसदमा कांग्रेसबाट शुन्य सहभागिता रहेको छ । प्रदेश समानुपातिक सांसदका बलिया दाबेदार नुवाकोटका प्रतापसिंह लामाले पार्टीले योग्यलाई भन्दापनि आफ्नोलाई समानुपातिकमा च्याप्दा तामाङ समूदायका एक जनापनि नपरेको बताए । उनले तीन नम्बर प्रदेशमा ११ लाख बढी तामाङ समूदायको बसोबास भएपनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले  प्रतिनिधित्व नगराउनु दुःखद भएको लोकपथलाई प्रतिक्रिया दिए । ‘पार्टीले पैसाको बलमा भनु या आफ्नो मान्छेलाई छान्दा भनौं, हामी जस्तो पार्टीका इमान्दार कार्यकर्ता छायाँमा परेका छौं’, उनले भने, ‘योग्यताको हिसावले समानुपातिक चयन गरिन्यो भने म एक नम्बरमा पर्थेँ।’ उनले आफ्नो दाबी प्रदेशबाट प्रत्यक्षमा हुँदाहुँदै पनि समानुपातिक सांसद हुने गरि छाडेको तर अहिले आएर धोका भएको गुनासो गरे । अन्तिम सूचीमा को को राख्ने भन्ने विषयमा केन्द्रिय कार्यसम्पादन समितिमा समेत छलफल नगराई देउवाले मनोमानी रुपमा चयन गरेको आफुले जानकारी पाएको उनले बताए । आफू प्रदेश सांसद हुन नसकेपनि तामाङ समूदायबाट कोहि न कोहि सांसद हुनुपथ्र्यो भन्दै लामाले यसो नहुँदा सो समूदायमै निराशा छाएको प्रतिक्रिया दिए । ‘भेटघाटका क्रममा साथीहरुले हाम्रो मान्छे कोहि चुनिदैन भने कांग्रेसलाई किन भोट हाल्ने भन्ने सम्मका प्रश्न गर्नुहुन्छ’,उनले भने, ‘यस्तो बेला नाजावाफ हुनुपर्ने अवस्था रहेको छ ।’ यद्यपी आफू जातियताको पछि लागेर हिँड्ने मान्छे नरहेको बताउँदै मात्र यतिधेरै जनसंख्यालाई वेवास्ता गरिएको भन्नेमात्रै आफ्नो भनाई रहेको उनले बताए । उनीमात्रै नभई कांग्रेसभित्रका तामाङ समूदायका अगुवाहरुले पार्टीले कसैलाई नसमेटेको भन्दै असन्तुष्टि जनाएका छन् । समानुपातिकमा ठूला दल नेकपा एमाले र माओवादी केन्द्रले भने तीन नम्बर प्रदेशबाट तामाङ समूदायलाई समेटेका छन् । कांग्रेसले मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा र कल्पना नेपाली लाई तीन नम्बर प्रदेशबाट सांसद बनाएको छ । तामाङ समूदायबाट पार्टीमा महत्वपूर्ण योगदान दिनेहरु धेरै भएपनि अहिले सांसद छानिएका १४ जनामध्ये केहि त पार्टीमा कुनै योगदान नदिनेहरु समेत रहेको बताइन्छ । यसैतर्फ संकेत गर्दै प्रतापसिंह लामा भन्छन्, ‘०४६ सालमा पञ्चायत ढाल्न भएको आन्दोलनदेखि अहिलेसम्म कांग्रेसमा सक्रिय छु, तर अहिले सांसद बनेका केहिको बारे त सुनेको पनि थिइनँ ।’ कांग्रेसले निर्वाचन आयोगमा बन्द सूची बुझाउने क्रममा दर्जनौं तामाङ समूदायका नेताहरुको नाम बुझाएको थियो । तर अन्तिम सूची बुझाउने क्रममा एक जनापनि नअटाएका हुन् । केन्द्रीय तथ्यांक विभागका अनुसार प्रदेश ३ मा सबैभन्दा धेरै तामाङ जाति रहेका छन्। पछिल्लो राष्ट्रिय जनगणनाअनुसार तीन नम्बर प्रदेशमा रहेको ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्यामध्ये २० दशमलव ४२ प्रतिशत अर्थात ११ लाख, २९ हजार ११५ तामाङ रहेका छन् । त्यसपछिमात्रै बाहुन, क्षेत्री,नेवार, मगरलगायतका जाती रहेका छन् । तथ्यांक अनुसार ३ नम्बर प्रदेशमा दोस्रोमा पहाडी बाहुन १८ दशमलव २८ प्रतिशत, तेस्रोमा क्षेत्री १७ दशमलव २८ र चौथोमा नेवार १६ दशमलव ९२ रहेका छन्। त्यसपछि मगर ४ दशमलव ८९, कामी २ दशमलव ५, गुरुङ २ दशमलव २५, थारू १ दशमलव ६६, राई १ दशमलव ५३ र दमाई १ दशमलव ३५ छन्। कांग्रेसले तामाङलाई नसमेटिकनै ३ नम्बर प्रदेशको सांसदको अन्तिम सूची बुझाइसकेको अवस्थामा आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन सरोकारवालाले नेतृत्वलाई सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?